काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले विद्युतीय हाजिरी मेसिन राख्न लगाएकोमा प्राध्यापकहरुले बोकेर हिँडेको बताए ।
शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बास्तोलाले मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे । उनले ती प्राध्यापकहरुलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरुले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।
बास्तोलाले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटक पटक दोहोर्याए । उनले भने, ‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्यो, तलव बुझ्ने चलन छ । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडि दिए । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने । यो माननीयहरुले जान्नुपर्छ मेरो अफिस बन्द थियो । मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर हामीहरुको माईनुट लुटेर लगेकै हो । लुटेर लगेको डकुमेन्ट किन बुझ्नु भयो ? अहिले पनि त्यो शिक्षामन्त्रीको मै छ । हामीले पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ । यी समस्याहरु छन् थुप्रै ।’
बास्तोलाले थपे, ‘हामीहरुकोमा कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन । यो तीन वटा मात्रै हो । तर विद्यार्थीको २२ वटा दर्ता भएका छन । जति राजनीतिक दल, त्यतिनै छन् । कति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन । तर ब्यानर लिएर आउँछन् । हाम्रो भाग चाहियो भनेर । यो हामीले बसालेको थिति हो । हामीले गम्भिर भएर एनलाईसिस गरौं । हामीले नै हटाउने हो । यो भिसी एक्लैले चाहेर हटदैन माननीयज्युहरु । मैले यो जानकारी गराए ।’
उनले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै उनीहरुलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।