काठमाडौं । वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा ‘स्काई वाक’ सञ्चालनको एक महिना पूरा भएको छ । यसै अवसरमा कम्पनीले विज्ञप्ति प्रकाशित गरी सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ ।
यसका लागि योजना अनुमति, उचाइ अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स् प्रालिले स्पष्ट पारेको हो।
स्काई वाक आधिकारिक रूपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स् प्रालिले स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै उत्साही भएको उल्लेख गरेको छ ।
‘नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरुबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरू जस्तैः श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरु समेतलाई पूर्णरूपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं,’ वन्डर्स प्रालिले विज्ञप्ति मार्फत भनेको छ, ‘हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुन बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।’