पर्यटन व्यवसायीलाई बोलाएर गृहमन्त्रीले भने– १० लाख होइन्, ३५ लाख पर्यटक भित्राउनुपर्छ

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष तथा विज्ञसँग  छलफल गरेका छन् । आज (बिहीबार) मन्त्री श्रेष्ठले उनीहरुलाई सिंहदरबारमा बोलाएर पर्यटन क्षेत्रका बारेमा चासो राखेका हुन् । 

त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपालको पर्यटन कसरी विकास गर्ने ? दश लाख पर्यटक मात्र नेपाल ल्याएर भएन, यसको निरन्तरता कसरी गर्ने ? भन्नेबारे चासो राखेको एशोसियशन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । 

Advertisement

उनले भने, ‘मन्त्रीज्युले हामीसँग तपाइँहरुको के हो समस्या ? राज्यले गर्नु पर्ने के हो ? भनेर भन्नुभयो र हामी संघ संस्थाका अध्यक्ष र पर्यटन क्षेत्रका विज्ञहरुले पनि आफनो तर्फबाट सुझावहरु दियौं । साथै, उहाँले पर्यटन क्षेत्रमा शान्ति सुरक्षामा के कमिकमजोरी छ ? गृहमन्त्रालयले के गरिदिनु पर्यो ? नेपालको सुरक्षालाई पर्यटन क्षेत्रले कसरी हेरिरहेको छ ? के कुरा सुधार्नुपर्ने छ ? भनेर भन्नुभयो ।’ 

त्यस क्रममा गृहमन्त्री श्रेष्ठले लिखितरुपमा पनि सुझाव दिन व्यवसायीलाई आग्रह गरेका थिए । उनले ‘लिखितरुपमा सुझाव पठाउनु, म मन्त्रालयमा राखेर समस्याको सक्दो समाधानको प्रयास गरेर नेपालमा दश लाख पर्यटक मात्र होइन्, ३५ लाख पर्यटन भित्रायाउनुपर्छ, त्यसका लागि सहयोग गर्न तयार छु’ भन्दै पर्यटक बनाउनुपर्ने कुरामा जोड दिएका थिए । 

उनले पर्यटन क्षेत्रमा ऐन नियमको समस्या, सीमा क्षेत्रमा रहेका समस्या, दुर्गम क्षेत्रमा रहेका समस्या, राज्यले प्रतिबन्धित क्षेत्र भनेर रोकेका क्षेत्र, हवाई जहाजहरु थप्पिन नसकेको अवस्थाको पनि समाधान जरुरी रहेको बताउँदै पोखरा र भैरहवा अन्तर्राष्टिय विमानस्थल बिना अध्ययन निर्माण गरिएको बताएका थिए । पहिला अध्ययन गरेर निर्माण गरेको भए यस्तो हुने थिएन भन्दै मन्त्री श्रेष्ठले विकास निर्माणमा पनि नेपालमा समस्या रहेको बताए ।  

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले नेपालको पर्वतारोहण पर्यटन र समग्र पर्यटन क्षेत्रलाई व्यवस्थित गरेर प्रवर्द्धन गर्न सके अझ बढी पर्यटकहरु भित्राउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठसँग छलफल भएको बताए । 

उनले आफूहरुले प्रतिबन्धित क्षेत्रहरु खुल्ला गर्न, हेलिकप्टर उडान अनुमति लिन सहजीकरण गरिदिन, प्रतिबन्धित क्षेत्रहरुमा उडान अनुमतिको लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर गर्ने व्यवस्था गर्न, कुनै बेला प्रहरी चोकी भएको ठाउँमा उनीहरुसँग समन्वय गरेर उडान गर्न पाउने व्यवस्था गर्न आग्रह गरेको बताए । 

शेर्पाले पर्मिट (अनुमति) लिनुपर्ने कतिपय ठाउँमा एक निकायमा नभएर धेरै ठाउँमा अनुमति लिनुपर्ने बाध्यता रहेको बताउँदै त्यसलाई एकद्धार गरिदिन आग्रह गरेको पनि बताए । छलफलमा होटल एशोसियशन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का प्रतिनिधि, कर्ण शाक्य, आङछिरिङ शेर्पा लगायतका व्यक्तिहरु सहभागी थिए ।  

Advertisement

Advertisement