पब्लिक कम्पनीमा रुपान्तरण हुने यती एयरलाइन्सको घोषणा, पछि आईपीओ पनि जारी गर्ने

Advertisement

काठमाडौं । निजी क्षेत्रको उड्डयन सेवा कम्पनी यती एयरलाइन्स पब्लिक कम्पनीमा रुपान्तरण हुने भएको छ । आफ्नो सञ्चालनको २५ बर्ष पूरा भएको अवसरमा एयरलाइन्सले सोमबार आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरिएको हो । 

यती एयरलाइन्स २५ वर्ष पूरा भएको अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सम्मान गरेको थियो । सो अवसरमा एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले आफूहरु चाँडै नै पब्लिक कम्पनीमा जाने र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने बताए । 

Advertisement

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले साढे दुई दशकसम्म उड्डयन क्षेत्रमा योगदान दिएकाले यी एयरलाइन्सलाई सम्मान गरेको भन्दै यसबाट एयरलाइन्सलाई अगाडि बढ्न हौसला मिल्ने विश्वास व्यक्त गरे । यतीले २०५५ सालबाट ट्विनअटर जहाजमार्फत उडान थालेको थियो । यो कम्पनीले अहिले एटीआर जहाजमार्फत शहरी क्षेत्रमा र भगिनी कम्पनी तारा एयरमार्फत दुर्गममा उडान सेवा प्रदान गर्दै आएको छ । 

यतीका अध्यक्ष शेर्पाले विभिन्न आरोहअवरोह पार गर्दै अहिलेसम्म जनताकै सेवामा उडान गरिरहेको बताउँदै अब जनतालाई पनि एयरलाइन्सको मालिक बनाउन पब्लिक कम्पनी बनाउन लागेको बताए । 

यती एयरलाइन्सका सीईओ अनोज रिमालले गएको माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको ठूलो दुर्घटनापछि आफूहरुलाई धेरै समस्यामा परेको अहिले भने आफूहरुलाई सहज हुँदै गएको बताए । 

Advertisement

Advertisement