कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, गठबन्धनले पनि कार्कीलाईनै विश्वासको मत दिने

Advertisement

विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।  
    
यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका  आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।

Advertisement

गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।” हाम्रो गठबन्धन कायम रहने भन्दै उहाँले  गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहो¥याउनुभयो । 

अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावना हुन सक्छ । तर अहिले नै हुन्छ भन्न सकिँदैन । गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ ।”

अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।”  

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।”

एक पृथक प्रसङ्गमा प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको बताउनुभयो । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उहाँले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।” 

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माणः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । 

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार ९५० अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

थापाद्वारा राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । 

नेता थापाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार  निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । 

नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर साथ रहने बताउनुभयो । प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले गठबन्धनलाई कुनै असर नपुग्ने र प्रदेशमा गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उहाँको भनाइ थियो ।

यसअघि आजै बसेको प्रदेश कांग्रेसको संसदीय दलको बैठक बसेको थियो । बैठकमा २९ जना प्रदेशसभा सदस्यमध्ये १९ जना उपस्थित हुनुहुन्थ्यो । 

Advertisement

Advertisement