काठमाडौं । के तपाइँ दशैंको बिदामा कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? के तपाइँलाई दशैंको टीका लगाएर वा टीकाको दिनपछि काठमाडौं उपत्यका वरपरका घुम्न लायक ठाउँमा जान म छ ? ती ठाउँमा कति खर्च लाग्छ ? जानकारी पाउनु भएको छैन् । छैन् भने काठमाडौं वरिपरिका रहेका पर्यटकीय स्थलहरु मध्ये ८ वटा पयटकीय स्थलहरु र यी स्थलमा घुम्न लाग्ने अनुमानित खर्च यस्ता छन् ।
१. चन्द्रागिरी
चन्द्रागिरी घुम्न टौदहबाट सुरु गरेर चन्द्रागिरी पुगेर केबुलकारमा तल झर्दा पनि हुन्छ । त्यो गर्दा एक हजार ५ सयदेखि २ हजारसम्म पर्छ । समय चाहिँ ६ देखि ७ घण्टा लाग्छ । चन्द्रागिरीबाट फकिँदा केवलकारबाट नआएर पदयात्रा गर्दै फर्किन पनि सकिन्छ । त्यसो गर्दा करिब ८ देखि ९ घण्टा लाग्छ र थानकोट निस्किन्छ । केवलकार नचढ्दा खर्च एक हजार जति हुन्छ । चन्द्रागिरीबाट गणेश हिमाल, मनास्लु हिमाल, लाङटाङ हिमाल, जुगल हिमाल, रोलवालिङ हिमाल, गौरीशंकर हिमाल लगायत देखिन सकिन्छ ।
२. फुल्चोकी
फुल्चोकी गाडीमा जान पनि सकिन्छ भने पदयात्रा गर्दै जान पनि सकिन्छ । फुल्चोकी जान आउनलाई पदयात्रा गर्दै गए ६ देखि ७ घण्टा लाग्छ । गाडीमा गए २ घण्टा जान र आउन २ घण्टा लाग्छ । यहाँको पदयात्रा गोदावरीबाट सुरु हुन्छ । पदयात्रा गर्दै गएर आउन ६ घण्टा लाग्छ । खर्च एक हजार जति लाग्छ । फुल्चोकीबाट लाङटाङ हिमाल, जुगल हिमाल, रोलवालिङ हिमाल, गणेश हिमाल देख्न सकिन्छ ।
३. लाँकुरी भञ्ज्याङ
लामाबगरबाट सुरु भएर ६ देखि ७ घण्टामा लाँकुरी भञ्ज्याङ पुगिन्छ । लाँकुरी भञ्ज्याङबाट पनि लाङटाङ हिमाल, गणेश हिमाल, जगल हिमाल देखिन्छ । खर्च एक हजार जति लाग्छ ।
४. धापासी डाँडा
सातदोबाटोबाट करिब डेढ घण्टामा धापासी डाँडा पुगिन्छ । त्यहाँ जिपलाइन पनि खेल्न सकिन्छ । जिपलाइन नखेलेमा एक हजारमा धापासी डाँडा घुमेर फर्किन सकिन्छ । यहाँको भौगोलिक वातावरण रमणीय छ ।
५. पाइलट बाबा
भक्तपुर सूर्यविनायकबाट एक घण्टामा पुगिन्छ, पाइलट बाबा । त्यहाँ पनि एक हजार खर्च भए पुग्छ । त्यहाँबाट काठमाडौंको निकै राम्रै दृश्य देखिन्छ । साथै, लाङटाङ हिमाल, गणेश हिमाल देखिन्छ ।
६. शिवपुरी
शिवपुरी जाने दुईदेखि तीन वटा बाटो छ । बुढानीलकण्ठबाट सुरु गरेर करिब ९ घण्टा लाग्छ शिवपुरी पुग्न । त्यहाँको मुख्य आकर्षण भनेको जंगली जनवार र चराचुरुङ्गी हो । यहाँ बाघ, बंदेल देखिख्न सकिन्छ । पदयात्राको लागि शिवपुरी राम्रो ठाउँ मानिन्छ । यहाँ प्रवेश गर्न एक सय रुपैयाँ लाग्छ । अरु भनेको आफूले के खाने हो ? त्यसमा भर पर्छ ।
७. जामाचो
जामाचो पुग्न करिब ६ घण्टा लाग्छ भने त्यहाँ प्रवेश गर्न एक सय रुपियाँ लाग्छ । सबै गरेर करिब पाँच सय रुपियाँ जति खर्चमा जामाचो घुमेर फर्किन सकिन्छ । त्यहाँबाट पनि काठमाडौंको दृश्य, लाङटाङ हिमाल, गौरीशंकर हिमाल, हेलम्बु, गणेश हिमाल देख्न सकिन्छ ।
८. धाप डयाम चिसापानी
धाप डयाम सुन्दरीजलबाट जान सकिन्छ, सुन्दरीजलबाट ६ घण्टामा यो ठाउँ पुगिन्छ । त्यहाँ पनि प्रवेश शुल्क लाग्छ । बाँकी भनेको खानेकुरामा आफ्नो इच्छाअनुसार खर्च गर्न सकिन्छ । सरदर एक हजारदेखि एक हजार पाँच सय सम्म लाग्छ । धाप डयामबाट चिसापानीमा एक रात बसेर फर्किन पनि सकिन्छ । त्यसको लागि करिब तीन हजार खर्च लाग्छ ।