काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बिहीबार दिउँसो बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त दिन दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
कम्पनीको आईपीओका लागि १२ लाख १२ हजार ६ सय ४५ जनाले १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपियाँ बराबरको १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।
यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गरेको थियो ।
सर्वसाधारणका लागि बिक्री गर्न लागिएको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।
उक्त कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।