नक्सालस्थित होटल हिल्टन अर्को महिना ‘सफ्ट ओपनिङ’ हुने, ‘फुल ओपनिङ’ चैतमा

Advertisement

काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण गरिरहेको होटल हिल्टन काठमाडौं अर्को महिना आंशिक सञ्चालनमा ल्याउने र आउँदो चैतमा पूर्ण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

होटलको निर्माण कार्य अधिकांश सम्पन्न भइसकेकोले अर्को यही आउँदो डिसेम्बर महिनाको अन्तिम तथा जनवरीको सुरुमा ‘सफ्ट ओपनिङ’ गर्ने र आउँदो मार्च अन्तिमतिर ‘फुल ओपनिङ’ गर्ने तयारी भइरहेको शंकर ग्रुपका कार्यकारी निर्देशक साहिल अग्रवालले बताए । 

Advertisement

पाँच तारे लक्जरी यो अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनका लागि अन्तिम तयारी भइरहेको बताउँदै उनले होटल निर्माणको लागत लगभग ७५० करोड पुग्ने बताए । होटल हिल्टनको निर्माण कार्य सन् २०१८ देखि निर्माण सुरु गरिएको थियो । ‘दुई–अढाई बर्ष त कोभिड–१९ ले समय खाइदिएर ढिलो भयो । लागत पनि बढ्यो’ अग्रवालले भने । 

सुरुमा छ अर्ब ६८ करोड लागत अनुमान गरिएको होटल हिल्टन तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । शंकर ग्रुपको अधिकांश लगानी रहेको होटल हिल्टनमा साहिल अग्रवालले ९० प्रतिशत शेयर होल्डिङ गरेका छन् । उनले भने, ‘दुई–तीन चरणमा हाम्रो काम भयो । पहिलाको स्टमेटअनुसार रुम पनि कम थियो । पछि बढ्यो । अहिले १७२ रुम पुगेको छ । छ वटा कार्यक्रम हल पनि छ ।  यसलाई सात वटा बनाउन मिल्छ । न्यू फेजमा अर्को ठूलो हल पनि बन्दैछ ।’ 

होटल हिल्टन काठमाडौंको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड इङल्याण्डले गरेको छ । हिल्टन वर्ल्डवाइड अमेरिकाको बहुर्राष्ट्रिय ब्राण्ड हो । यो कम्पनीले विश्वका १२३ भन्दा बढी देशहरुमा होटलको व्यवस्थापन गरिरहेको छ । 

कुल नौ रोपनी क्षेत्रफलमा रहेको होटल हिल्टन् काठमाडौं १८ तल्लाको छ । होटल मुख्य बिल्डिङ नै भएकाले नौ रोपनी क्षेत्रफल पर्याप्त हुने अग्रवालको भनाई छ । पौडी पोखरी छतमा हुनेछ । पाँच तारे स्टरको सबै मापदण्ड र सुविधाहरु सबै होटल हिल्टन् काठमाडौंमा हुने बताउँदै उनले हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा हुने बताए । 

होटलमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खानाका परिकारहरु उपलब्ध हुनेछ । होटलमा विवाह, सभा, बैठक सबै गर्न मिल्ने बताउँदै उनले दुई तले अण्डर ग्राउण्डसहित बन्न लागेको होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधा पनि हुने बताए । होटलमा तीन सयको हाराहारीमा कर्मचारी हुनेछन् । 

इण्डियामा पाँच तारे होटल बनाउँदा प्रतिरुम एक करोड १० लाखदेखि एक करोड ५९ लाख भारु पर्ने उदाहरण पेश गर्दै व्यवसायी अग्रवालले तर नेपालमा भने इण्डियामा भन्दा ४० प्रतिशत लागत बढी पर्ने बताए । उनले भने, ‘किनभने यहाँ हरेक चिज महंगो छ । इम्पोर्ट ड्युटी (आयात कर) तिर्नुपर्छ । लजिष्टिक सबै इण्डियाबाट ल्याउनुपर्छ । यहाँ केही पाउँदैन् । स्टिल, सिमेन्टबाहेक टायल, फर्निचर, मार्बल सबै बाहिरबाट ल्याउनुपर्छ ।’ 

अग्रवालका अनुसार नेपालमा पाँच तारे होटल निर्माण गर्न सरदर प्रतिरुम तीन करोड ३६ लाख रुपियाँ लागत पर्ने बताए । यसमा बैंकको ब्याज, जग्गा खरिदको खर्च, सञ्चालन पूर्वको खर्च (डिजाइनलगायत) जोडिएको हुँदैन् । यी सबै खर्चसमेत जोड्ने हो भने चार करोडभन्दा बढी पर्ने उनको हिसाव छ । 

Advertisement

Advertisement