काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो ।
उक्त शेयर २ लाख ७ हजार ५ सय २३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://www.muktinathcapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://www.urja.visionlumbini.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई शेयर बाँडफाँड गरिसकेको कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता आईपीओ बिक्री गरेको हो ।
स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयरसहित कूल २० लाख ७५ हजार २ सय ८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।