मेरो प्रस्तुतीले दुवईमा तरंग ल्यायोः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रश्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् । दुबईमा आयोजित सम्मेलनमा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका उनले नेपालको तर्फबाट आफ्नो प्रश्तुतीले त्यहाँ तरंग ल्याएको दाबी गरेका हुन् । 

दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताए । सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको बताउँदै उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्युनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए । 

Advertisement

दाहालले भने, ‘कोप २८ पहिलापहिलाको भन्दा फरक, प्रभावकारी हुन्छ भन्ने सबै राष्ट्रहरुको सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको धारणा थियो । हाम्रो लागि यो अलि नयाँ नै भयो । नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यस अघि । पहिलो पटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरु, पत्रकारहरु, विज्ञहरु त्यहाँ केन्द्रित भएर त्यहाँ लगातार हस्तक्षेपहुने गरी कार्यक्रम भयो । यो हाम्रा लागि खुशीको कुरा भयो । दोस्रो, संयुक्त राष्ट्र संघका महासभामा गएर हामीले जोड दिएर अन्तराष्ट्रिय समुदायलाई अपिल गर्ने काम गरियो । महासचिवलाई पनि नेपाल भ्रमणको निम्तो दिइयो । उहाँले नेपालमा सगरमाथा पुग्ने, अन्नपूर्ण हिमाल पुग्नु, सबैसँग अन्तरक्रिया गर्नु यो सम्मेलनमा नेपालका लागि ठूलो अवसर भयो । यो सामान्य छैन ।’ 

उनले थपे, ‘म पत्रकार साथीहरु र तपाईहरुमार्फत आम नेपाली जनतालाई भन्न चाहन्छु–यो सामान्य छैन । यसको प्रभाव विश्वव्यापी भयो । त्यसैकारण मेरो अध्यक्षतामा जो त्यो राउण्ड टेबल भयो । त्यसमा सबैले नै नेपालको प्रशंशा गर्नुपर्ने जस्तो भयो । नेपालका नाम उल्लेख नगरीकन त बोल्नै नसक्ने जस्तो अवस्था भयो । यस्तो त पहिला भएको थिएन भनेर हाम्रै कर्मचारीहरुले पनि भने । त्यस्तो खालको भयो । अनि, हाम्रो मूल स्टेटमेन्ट पनि मैले यहाँ जे भनेको थिए । यो पटक हामी माग्ने जस्तो निरिह भएर प्रश्तुत हुने होइन, हामी आफ्नो अधिकारको निम्ति योद्धाको रुपमा प्रस्तुत हुने भनेको थिए मैले । ठ्याक्क त्यस्तै भयो । सायद तपाईहरुले हिजो मेरो स्टेटमेन्ट सुन्नु पनि भयो होला । त्यसले एउटा सकारात्मक तरंग चाहीँ ल्यायो । दुई जना राष्ट्रपति म बोल्ने बित्तिकै बोल्ने लाईनमा बसेका थिए, यति खुशी भए । त्यस्तो स्ट्रङ स्टेटमेन्ट आयो, ठिक आयो भन्ने खालको भयो । त्यसकारण यी सबै दृष्टिकोणले र आज बिहानको पनि त्यस्तै भयो । नेपाल यति चर्चामा रह्यो नि अहिले । यो तीन दिन, चार दिन । यति धेरै चर्चामा रह्यो । यसले गर्दाखेरी यो अरु भन्दा फरक भयो भन्ने नै हामीले महसुस गरेका छौं । म त सन्तुष्ट छु । जे सोचेर जस्तो होस् भनेको थिए, त्यस्तै भयो । कतिपय कुरा त त्यो भन्दा पनि राम्रो भयो भन्ने लागेको छ । किनभने अब त्यहाँ अरु सबैसँग कुरा हुँदा पनि हिमाल, पहाड र नेपाल विश्वभरी चर्चामा छ अहिले । पहिला चाहीँ पहाडको नेतृत्व अरुले गरेको रहेछ भन्ने रहेछ त्यहाँ । यो पटक त्यसको लिडरसिप नेपालले लियो भन्ने त्यहाँको आम बुझाई भयो । त्यसकारण हामी नेपालीको निम्ति यो खुशीको कुरा छ । अब महासचिवले हामीलाई प्राथमिकतामा राखिदिएको हुनाले आर्थिक र प्राविधिक सहायता आउने कुरामा पनि ढुक्क हुने स्थिति बनेको छ । त्यसकारण यो अलि नयाँ भयो भन्ने छ ।’

Advertisement

Advertisement