चोरी निकासी पैठारीवापतको ४५ प्रतिशत कमिशन भन्सारका कर्मचारी नदिन माग गर्दै प्रदर्शन

Advertisement

काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा)ले राजधानीस्थित भन्सार विभाग घेराउ गरेको छ । आईतवार आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो । 

सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने उनीहरुको माग छ । बिरोध कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य बिल्टुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग पूरा गर्नका निम्ति बाध्य बनाएर छोड्ने बताए । 

Advertisement

उनले तीन दिनमा सरकारले माग पूरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्ने र आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिए । यादवले भने ‘आज हामी केन्द्रीय आम सम्पर्क मञ्चले आज विभाग घेराउ गरेको छ । शान्तिपूर्ण हिसावले आग्रह गरेका छौँ । माग पूरा गर्नका निम्ति बाध्य बनाउनेछौँ । आम जनताले ४५ प्रतिशत डिस्काउण्ट पाउने व्यवस्था सरकारले गरेको छ । तर त्यो ४५ प्रतिशत भन्सारको व्यवस्था जनताले नपाइ भन्सारका हाकिमको निर्देशनमा चलेको छ । त्यो कि त आम जनताले पाउनुपर्छ । होइन भने ४५ प्रतिशत जनताका लागि गरेको व्यवस्था खारेज गर्नुपर्छ । आजबाट शुरुवात छ । शान्तिपूर्ण धर्ना गरेर शुरु गर्नेछौँ । तीन दिनमा सरकारले माग पूरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्न अघि बढ्नेछौँ । माग सम्बोधन नभएसम्म यो कार्यक्रम जारी राख्नेछौँ ।’

त्यस्तै पार्टीकी केन्द्रिय सदस्य रञ्जुकुमारी शाहले राज्यले नियमकानून बनाएर आफैँले पालना नगरेकाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी गर्नुपर्ने मागसहित आफूहरु आन्दोलनमा उत्रिएको बताइन् । 

उनले भनिन्, ‘राज्यले नियम कानून बनाएर भन्सारमा जुन आम नागरिकले ४५ प्रतिशत छुट पाउने भनेको छ, त्यो कर्मचारीहरुले पाइरहेका छन् । जनताले पाएका छैनन् । भन्सार छली नियन्त्रण गर्नुपर्छ सरकारले ।’

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ । आजपाले यसअघि गत असोजमा पनि भन्सार विभाग घेराउ गरेको थियो ।

Advertisement

Advertisement