काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नेपालले भूराजनीतिक सहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताएका छन् ।
शुक्रवार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा.खतिवडाले आर्थिक विकासको लागि भन्दा पनि नेपालले भूराजनीतिक साहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताएका हुन् । उनले वैदेशिक सहयोगमा राजनीतिक अर्थतन्त्रका कुराहरु जोडिने गरेको बताए । भूराजनीतिक र विश्व अर्थतन्त्रमा पावरको हिसावले नसोचेको भए अमेरिकी परियोजना एमसीसी विगतमा ल्याउन लागिएको थियो भन्ने कथा मात्रै सुनिने तर कार्यान्वयनमा आउने अवस्था नभएको उनको भनाई थियो ।
डा.खतिवडाले भूराजनीतिक र विश्व अर्थतन्त्रमा अमेरिका बलियो भएकाले नै एमसीसी परियोजना कार्यान्वयनमा ल्याउनुपरेको स्पष्ट पारे । उनले भूराजनीतिक र विश्वमा अर्थतन्त्रको पावरको हिसावमा नेपालले कुन देशको सहायता लिँदा र नलिँदा कस्तो असरपर्छ भन्ने विषयमा तुलना गर्न आवश्यक हुने बताए । नेपालमा कतिपय योजनाहरु सरकारको खुशीले भन्दा पनि शक्ति सन्तुलनको रुपमा लिइरहेको दाबी गरे । पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा विश्वको पावर मुलुकको परियोजना नभए देश नचल्ने भन्ने अवस्था नभएको भन्दै अमेरिकाको एमसीसी अगाडि बढाउँछौं भने चीनको बिआरआई परियोजना पनि नेपालले अगाडि बढाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । वैदेशिक सहायता स्वीकार गर्दा भूराजनीतिक सन्तुलन नेपालको लागि जरुरी रहेको बताए । नेपाल कुनै पनि देशको सहायता लिनुहुन्न भन्ने अवस्थामा अहिले नपुगेको पनि उल्लेख गरे ।
उनले अबको १५ वर्षसम्म ५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गर्दा अनुदान लिँदैनौं भन्ने अवस्थामा पुग्न सकिने दाबी गरे । अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तर उन्नती भएपछि अनुदान हट्दै जाने अवस्था रहेको भन्दै अनुदान नलिने अवस्थामा पुग्नको लागि मुलुकको आन्तरिक राजश्व बलियो बनाउन आवश्यक रहेको बताए ।
यता सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताए । उनले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताए । यस्तो देशमा वैदेशिक सहायता दिने देशहरुले वित्तीय पारदर्शीतामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरुले वित्त शर्त, वित्त अनुशासन र पारदर्शीतामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।
उनले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले ठेकदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए । वैदेशिक एजेन्सीहरुले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरुमा निरपेक्ष रुपमा आर्थिक मितव्ययिताका लागि शर्त आवश्यक रहेको बताए ।
उनले प्रदेश सरकारहरुलाई पञ्चवर्षिय योजनाहरु बनाउन कन्सल्टेन्ट बुद्धिजीविहरुको आवश्यकता नभएको बताए । सरकारले बनाउने नीतिमा लैंगिक,धार्मिक,जातिय अवस्थालाई समावेश गर्ने खालका नीतिहरु बनाउनसके संघीयता त्यसको एउटा अंश हुनसक्ने बताए । सिंहदरबारमा १० जना एडभाइजर राखिएको तर अब कोशी, कर्णालीमा पनि राख्नुपर्छ भन्ने कुरा आफू सरकारमा गयौं भने खारेज गर्ने बताए । उनले खुद्रे खालका योजनाहरुमा पनि निर्मम भएर अगाडि बढ्ने बताए । उनले बुझेको, देखेको र भोगेको कुरालाई कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले अति अल्पविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने कुरामा धेरै हाउगुजी भइरहेको बताए । उनले वैदेशिक व्यापारमा सहुलियत कहाँ पाइन्छ, कहाँ गुम्छ र सम्भावित प्रतिष्पर्धी को हो ? भनेर गम्भिर भएर विश्लेषण कसैले नगरेको बताए ।
उनले ग्राण्ड लोनको अवस्था एलडिसी भएकै कारण लगभग शुन्य अवस्थामा रहेको बताए । विश्व बैंक,एडिबीहरुको सहयोग पनि भूराजनीतिकको आइरहेको बताउनु भयो ।
त्यसैगरी नेपाली काँग्रेसका नेता डा. मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरे । उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए । उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे । मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए । अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कही पुग्न नसक्ने बताए ।
रिजालले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताए । अर्थतन्त्र सवल बन्ने सबै आधारहरु बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए ।