हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–ल्हासा उडान सुरु

Advertisement

काठमाडौँ । निजी क्षेत्रको हिमालय एअरलाइन्स्ले आज बिहीबारदेखि काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारले नेपाल र चीनबीचको कनेक्टिभिटि बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने एयरलाइन्सको विश्वास छ । 
 
तिब्बतको राजधानी शहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको एयरलाइन्सको भनाई छ । 

पहिलो आउटबाउन्ड उडान, एचनाइन ७७४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार दिउसो १२ बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको हिमालय एयरलाइन्सले जनाएको छ । 

Advertisement

यही जनवरी १ देखि एअरलाइन्स्ले हरेक सोमबार ल्हासा उडान भर्नेछ । योसँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को पाँचौँ सिधा उडान सुरु भएको छ ।  एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । सन् २०१४ मा सुरु भएको यस एयरलाइन्समा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि.को लगानी छ । 
 

Advertisement

Advertisement