अनावश्यक भ्यूटावरहरु बनाइयोः शर्मा, ओलीको जवाफ– कांग्रेसको नीति एकतले मात्रै हो ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सत्तारुढ काँग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् । 

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले काँग्रेसभित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको बताएका हुन् । 

Advertisement

अहिलेको राज्य संचालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको काँग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने इच्छा नभएको बताउँदै ओलीले काँग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए । काँग्रस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यू टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले काँग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ? भनि प्रश्न समेत गरे । 

ओलीले भने, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली काँग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन् । त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्न । कुनै अमनचैनमा खलल पार्न पनि चाहान्न । त्यस सीमाभित्र मात्रै म बोल्छु । विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाईस ? कलकत्ता जान गंगाको बाटो किन भनिस्, ट्रकने कुँदाउनुपर्ने ठाउँमा पाईपलाईन अमलेखगंजमा किन ल्याइस ? टयांकर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस ? बयलगाडा चलाईराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस ? त्यत्रो साँढे ८ लाख पुनर्निमित घरहरु त्यति छोटो अवधिमा बनाएर पीडितहरुलाई किन हस्तान्तण गरिस ? ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लल्कार्नु भयो । त्यसको पनि म जवाफ दिन्न । म त्यतापट्टि पनि जान चाहान्न । र, म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो, यो देश कहिलेकहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताए । ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको उनको भनाई थियो ।

ओलीले भने, ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको ? नगई नहुने त्यहाँ के पर्यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ?’

Advertisement

Advertisement