बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन गरेर निर्वाचन हुँदै, विपक्षीको बहिस्कार

Advertisement

काठमाडौं । बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरु हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ । 

बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म रहनेछन् । 

Advertisement

अक्टोबरको अन्त्यदेखि बंगलादेशी विपक्षी दलहरूले सत्तारुढ बंगलादेश अवामी लीग (एएल) पार्टीको सरकारलाई सत्ता छोड्न र अर्को चुनाव निर्दलीय प्रशासनमा गराउन दबाब दिन लगातार नाकाबन्दी र हड्तालहरू गर्दै आएका छन् । 

प्रधानमन्त्री शेख हसिनाले बारम्बार सत्ता त्याग गर्न विपक्षीको आह्वानलाई अस्वीकार गर्दै देशको आगामी राष्ट्रिय निर्वाचनलाई जनताको इच्छा झल्काउने गरी स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउने आफ्नो वाचालाई दोहोर्याएकी छन् । 

चुनावको दिन नजिकिँदै गर्दा बाङ्ग्लादेशको राजनीतिमा भारतको रुचि र भूमिकाबारे व्यापक चर्चा भइरहेको छ।

प्रधानमन्त्री शेख हसिना चौथो पटक देशको कार्यकारी नेतृत्व लिन चाहन्छिन्। प्रतिपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेकाले संसदीय निर्वाचनमा उनको जित निश्चितजस्तै देखिन्छ।

विपक्षी बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) र त्यसका साझेदारहरूले हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउँछिन् भन्नेमा विश्वास नभएको बताएका छन् । उनीहरूले प्रधानमन्त्रीले पद छाड्नुपर्ने र तटस्थ अन्तरिम सरकार गठन गरेर त्यसमार्फत् निर्वाचन गराइनुपर्ने माग राखेका छन्।

शेख हसिनाले त्यस्तो मागलाई अस्वीकार गरेकी छन्। झन्डै १७ करोड जनसङ्ख्या रहेको मुस्लिमबहुल बाङ्ग्लादेशलाई तीनतिर भारतले घेरेको छ। बाङ्ग्लादेशको दक्षिणपूर्वमा २७१ किलोमिटर सीमा मात्र म्यान्मारसँग जोडिएको छ ।

भारतका लागि बाङ्ग्लादेश छिमेकी मुलुक मात्रै होइन, रणनीतिक साझेदार र निकटको सहयोगी पनि हो। पूर्वोत्तरका भारतीय राज्यहरूको सुरक्षाका लागि बाङ्ग्लादेशसँगको सम्बन्धले महत्त्व राख्ने बीबीसीको भनाई छ ।

सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी छन् । दिल्ली फेरि उनलाई शक्तिमा आएको देख्न चाहन्छ भन्ने कुरा लुकेको छैन् । हसिनाले सधैँ दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्व दर्शाउँदै आएकी छन्।

विपक्षी बीएनपीले हसिनाको दल अवामी लीगलाई भारतले दिएको समर्थनका लागि कडा आलोचना गर्ने गरेको छ ।

Advertisement

Advertisement