काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रसारप्रसारमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन खुलेर लागेका विश्वका धनाड्य एलन मस्कको धन अझ बढ्न संभावना बढेर गएको छ ।
ट्रम्पको ह्वाइट हाउस पुनरागमनका एक प्रखर समर्थक मस्कले अब के कस्तो भूमिका र सुविधा पाउने हुन् ? सबैको चासो बनेको छ । मतदान सम्पन्न भएको रात मस्क ट्रम्पसँगै फ्लोरिडाको एक रिसोर्टमा सँगै देखिएका थिए ।
ट्रम्पको जितपछि आफ्नो सामाजिक सञ्जाल एक्समा ‘अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई सुस्पष्ट जनादेश दिएका छन्’ भनेर लेखेका थिए । साथै जित सुनिश्चित भएपछि ट्रम्पले गरेको सम्बोधनमा पनि मस्कको भूमिका र उनले बनाएको स्पेस एक्सको सफलताको चर्चा गरेका थिए ।
गएको जुलाईमा पेन्सेल्भेनियाको बट्लरमा ट्रम्पको हत्या प्रयास भएपछि मस्क तत्काल उनको पक्षमा उभिएका थिए । अघिल्लो निर्वाचनमा तत्कालिन स्टिवटर (हालको एक्स)ले ट्रम्पलाई प्रतिवन्ध नै गरे पनि अहिले मक्सले खरीद गरेपछि भने यो सञ्जाल उनको चुनाव प्रचारको सशक्त माध्यम भएको थियो ।
राष्ट्रपति पदमा निर्वाचित भएका ट्रम्पका लागि मस्क सर्वाधिक महत्वपूर्ण व्यक्ति र समर्थक हुन् । ट्रम्पलाई चुनाव जिताउनकै लागि मस्कले ११ करोड ९० लाख डलर चन्दा समेत दिएका थिए । साथै, चुनावी प्रचारका लागि डेमोक्राट उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने ठानिएका ‘ब्याटलग्राउन्ड स्टेट’हरूमा मस्क आफै सक्रिय भएर लागेका थिए । ती राज्यमा मस्कले प्रत्येक दिन एक मतदातालाई १० लाख डलरसम्मको पुरस्कार पनि दिएका थिए ।
चुनावी प्रचारका क्रममा आफ्नो नाम, पैसा र मञ्च ट्रम्पको लागि खर्च गरेका मस्कले अब चाहेको अवस्था धेरै कुरा पाउनसक्ने अवस्था बनेको छ । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा बाइडेन प्रशासनले गरेको फोहोर हटाउन मस्कलाई निम्त्याउने घोषणा गरिसकेका छन् ।
सन् २०३० सम्म मंगल ग्रहमा मानवसहितको यान उतार्ने अभियानमा रहेका मस्कले नयाँ प्रविधिको यान बनाउन अर्बौं डलर खर्च गरिरहेका छन् । मस्कको स्पेस एक्सले सरकारी भूउपग्रहहरूलाई अन्तरिक्षमा पठाउने व्यवसायमा आफ्नो प्रभुत्व जमाइसकेको पनि छ । विश्वको चर्चित र महंगो कार टेस्लाको समेत मालिक रहेका मस्कले नयाँ क्षेत्रमा पनि लगानी गर्ने तयारीमा छन् । उनले सौर्य उर्जाबाट चार्ज हुने फरक प्रविधिको मोवाइल समेत विश्व बजारमा ल्याउने तयारी गरेका छन् ।
आफ्ना निकट साझेदार ह्वाइट हाउसमा हुँदा मस्कले आफ्नो निजी सम्बन्ध र सम्पर्क प्रयोग गरी थप लाभ लिने प्रयास गर्न सक्नेछन् । यसले उनको व्यापार व्यवसाय विस्तार र सम्पत्तिको पोर्टफोलियो अझै बढेर जाने देखिन्छ । साथै, मस्कको स्पेसएक्स कम्पनी जासुसी भूउपग्रहहरूको निर्माणमा पनि लागेको छ । यस कार्यमा ट्रम्पले उनलाई सहजीकरण गरिदिन सक्छन् ।
ट्रम्पले कर्पोरेशन र धनीहरूप्रति लक्षित चर्को कर कम गर्ने आश्वासन चुनावी अभियानमा दिएकाले सो कुरा कार्यान्वयन हुँदा मस्क पनि लाभान्वित हुनेछन् ।