ट्रम्पले सिफारिस गरेको औषधिले ६ देशका १७ हजार जनाको मृत्यु

Advertisement

एजेन्सी । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्ने एउटा औषधिको प्रमोसन गरेका थिए । त्यही औषधिले ६ देशका १७ हजार जनाको मृत्यु भएको पाइएको छ । 

फ्रेन्च रिसर्चर्सको अध्ययनले यस्तो देखाएको हो ।

Advertisement

रिपोर्टमा उल्लेख गरिएको औषधिको नाम हाइड्रोक्सिक्लोरिक्विन (एचसिक्यू) हो । ट्रम्पले २१ मार्च सन् २०२० मा ट्विट गर्दै यो औषधि चामत्कारिक रहेको बताएका थिए । 

‘कोरोना भाइरसबाट बच्नका लागि मैले निरन्तर यसको सेवन गरिरहेको छु । तपाईं पनि कोरोनाबाट बच्न चाहनुहुन्छ भने यो औषधि खान सक्नुहुन्छ । यसले कसैको मृत्यु हुँदैन । एक जना कोरोना संक्रमित महिलाले यो औषधि प्रयोग गरेकी थिइन् र उनी ठीक पनि भइन्,’ ट्विट गर्दै उनले भनेका थिए, ‘अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले आपत्कालीन अवस्थामा यो औषधिलाई प्रयोग गर्ने अनुमति दिएर ठीक गरेको छ ।’

जुन २०२० मा प्रयोग गर्न प्रतिबन्ध

जुन २०२० मा एफडिएले न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनलाई उद्धृत गर्दै उक्त औषधिलाई आपत्कालीन अवस्थामा प्रयोग गर्न रोक लगाएको थियो । तर, अहिले एचसिक्यूले कोभिडलाई कुनै प्रभाव नपार्ने, बरु मृत्युको जोखिम बढाउन सक्ने अध्ययनमा देखिएको छ । 

एफडिएले एचसिक्यूलाई कोभिडभन्दा पनि मलेरिया, ल्युपस र रिमेटोयड अर्थराइटिस उपचारका लागि अनुमोदन गरेको थियो । त्यतिबेला कोरोनाको कुनै औषधि नभएका कारण डाक्टरले बिरामीलाई सो औषधि दिइरहेका थिए ।

अमेरिका, टर्की, बेल्जियम, फ्रान्स, इटाली र स्पेनमा गरी १७ हजार मानिसको मृत्यु  एचसिक्यूले भएको रिपोर्टमा उल्लेख छ । सबभन्दा धेरै १२ हजार ७३९ मृत्यु अमेरिकामा भएको थियो । त्यस्तै, स्पेनमा १८९५, इटालीमा १८२२, बेल्जियममा २४०, फ्रान्समा १९९ र टर्कीमा ९५ जनाको मृत्यु सोही औषधिका कारण भएको रिपोर्टमा उल्लेख छ । 


 

Advertisement

Advertisement