काठमाडौं । सवारी कर्जामा कसले बढी लगानी गर्ने ? मुख्यतः दुई ठूला बैंक नबिल र ग्लोबल आईएमई बैंक बीचमा नै मुख्य प्रतिस्पर्धा देखिएको छ । पुँजी वृद्धि, निक्षेप संकलन, कर्जा प्रवाह र नाफामा अझ प्रतिफल वितरणमा समेत एकअर्काको खास प्रतिस्पर्धीको रुपमा रहेका यी दुई बैंकले पछिल्लो पटक सवारी कर्जामा समेत प्रतिस्पर्धा गरिरहेको देखिएको छ ।
चालु आर्थिक वर्षको साउन र भदौमा नबिल बैंकले सवारी कर्जामा १० अर्ब ९९ करोड (करिब ११ अर्ब रुपियाँ) कर्जा लगानी गरेको छ । आर्थिक शिथिलताका कारण अन्य क्षेत्र प्रायः कमजोर रहँदा पछिल्लो समय निजी व्यवसायीक क्षेत्रबाट खासै कर्जाको माग आउन सकिरहेको छैन । तर यस्तो कठिन परिस्थितिका बाबजुद पनि नबिल बैंकले सवारीको क्षेत्रमा छोटो समयमा नै ११ अर्ब रुपियाँ बराबरको कर्जा लगानी गरेको छ । यो निकै चुनौतीपूर्ण अवस्था हो ।
यद्यपि, यस्तो सवारी कर्जा लगानीमा नबिललाई समेत उछिन्दै ग्लोबल आईएमई बैंकले समीक्षा अवधिमा साढे १४ अर्ब रुपियाँमाथिको लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार दशैंअघिसम्म ग्लोबल आईएमबई बैंक एक्लैले सवारी कर्जाको क्षेत्रमा १४ अर्ब ५९ करोड ३० लाख रुपियाँ लगानी गरेको छ । यो वाणिज्य बैंकहरुले समीक्षा अवधिमा सवारी कर्जाको क्षेत्रमा प्रवाह गरेको कूल कर्जाको १३.५१ प्रतिशतको हिस्सा हो ।
आर्थिक वर्षको भदौ मसान्तसम्म बैंकहरुले सवारी साधनको क्षेत्रमा १ खर्ब ७ अर्ब ९९ करोड रुपियाँ कर्जा लगानी गरेका छन् । जसमध्ये दुई ठूला बैंक, नबिल र ग्लोबल आईएमई बैंकको मात्र लगानीलाई हेर्ने हो भने करिब एकचौथाई (२३.६९ प्रतिशत) हुन आउँछ ।
२०८० असार मसान्तको तुलनमा बैंकहरुले सवारी कर्जा प्रवाह १ अर्ब १ करोड ३८ लाख रुपियाँले बढाएका छन् । यसअघि बैंकहरुले १ खर्ब ६ अर्ब ८६ करोड रुपियाँ लगानी गरेका थिए ।
कुन बैंकको कतिछ लगानी ?
राष्ट्र बैंकको तथ्यांक अनुसार नबिल र ग्लोबल आईएमई बैंकलाई छाडेर बाँकी १८ वटा बैंकलाई हेर्ने हो भने दुई महिनामा बैंकहरुले सवारी कर्जाको क्षेत्रमा ८२ अर्ब ४१ करोड रुपियाँ लगानी गरेका छन् ।
सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले ६ अर्ब ४७ करोड ७० लाख रुपियाँ सवारी कर्जामा लगानी गर्दा नेपाल बैंकले ३ अर्ब ३ करोड ३० लाख रुपियाँ र कृषि विकास बैंकले ३ अर्ब ७८ करोड ४० लाख रुपियाँ लगानी सवारी (अटो) क्षेत्रमा गरेको छ ।
यसैगरी कुमारी बैंकले ६ अर्ब ४१ करोड ७० लाख रुपियाँ लगानी गर्दा एनएमबी बैंकले ६ अर्ब २३ करोड र प्राइम बैंकले ५ अर्ब ९१ करोड रुपियाँ लगानी गरेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १६ करोड रुपियाँ लगानी गर्दा सानिमा बैंक र प्रभू बैंकले क्रमशः ५ अर्ब ७४ करोड रुपियाँ र ५ अर्ब ४८ करोड रुपियाँ कर्जा सवारी साधनको क्षेत्रमा गरेका छन् ।