काठमाडौं । शेयर बजारमा भिडियो केवाइसी सुरु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले भिडियो केवाइसी लागू गर्न स्वीकृति दिएसँगै भिडियो केवाइसीको सुरुवात हुन लागेको हो ।
कोभिड महामारीका बेला केही निक्षेप सदस्यले भिडियो केवाइसी गर्न सुरु गरेका थिए । यद्यपि त्यसले औपचारिकता पाउन भने सकेको थिएन । तर, धितोपत्र बोर्डले अनुमति दिएसँग अनुमतिको बाटो खुलेको छ । जसअनुसार अब निक्षेप सदस्यहरूले भिडियोबाटै केवाइसी गर्न पाउने छन् ।
कोभिडका बेला घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि थुप्रै बैँक–वित्तीय संस्थाले अनलाइन खाता तथा भिडियो केवाइसी गर्न सकिने सुविधा ल्याएका थिए । तर, अब सर्वसाधारणले घरमै बसेर भिडियो केवाइसीमार्फत डिम्याट खातासमेत खोल्न सक्ने भएका छन् ।
योसँगै डिम्याट खाता खोल्न बैँक धाउनुपर्ने अवस्था अन्त्य हुने बताइएको छ ।