भिसिटिएस अपचलनमा ५५ लाख जरिवाना
भिसिटिएस अपचलनमा ५५ लाख जरिवाना
काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्षको तीन महिनामा राजस्व चुहावट तथा कर छली मुद्दामा करिब सवा दुई अर्ब रुपियाँ बराबरको मागदाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ ।
असोज मसान्तसम्म अनुसन्धानको दायरामा आएका विभिन्न मुद्दाहरुमध्ये राजस्व चुहावटतर्फ ५ वटा, विदेशी विनियम अपचलनको १३ वटा र भिसिटिएस अपचलनका १५८ गरी कूल १७६ वटा मुद्दामा विभागले विशेष अप्रेशन चलाएको हो ।
जसमध्ये राजस्व चुहावटतर्फ विभागले ३० जना प्रतिवादी विरुद्ध १६ करोड ७८ लाख २१ हजार २९८ रुपियाँ सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो ।
यसैगरी समीक्षा अवधिमा विभागले विदेशी विनिमय अपचनको १३ वटा मुद्दामा १६ जना प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ । यस मुद्दामा ६५ करोड २७ लाख एक हजार २४४ रुपियाँ बराबरको विगो रकम अपचन भएकोमा विभागले प्रतिवादीहरु विरुद्ध एक अर्ब ९५ करोड ८१ लाख ३ हजार ७३४ रुपियाँ सजाय मागदाबी गरेको छ । यस मुद्दामा ९ करोड ६३ लाख ९० हजार हजार २६२ रुपियाँ धरौटीमाग गरिएको छ ।
भिसिटिएस अपचलनमा ५५ लाख जरिवाना
राजस्व अनुसन्धान विभागले भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) अपचनको मुद्दामा आर्थिक वर्षको असोज मसान्तसम्म १५८ फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । जस अन्तरगत कम्पनीहरुलाई कूल ५५ लाख ९३ हजार रुपियाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
हालसम्म भिसिटिएस प्रयोगकर्ताहरुको संख्या २ लाख ६४ हजार रहेको छ भने भिसिटिएसको संख्या २५ लाख २७ हजार रहेको छ ।