अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, विद्युत प्राधिकरण मौन

Advertisement

दोलखा । देशकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका सरसामानहरू चोरी भएका छन् ।

गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको कम्पनीले जनाएको छ ।

Advertisement

चोरी भएको विषयमा सोमबार कम्पनीको कर्मचारी युनियनले व्यवस्थापनलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढङ्गबाट चोरी भएको जनाउँदै युनियनले आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न आग्रह पनि गरेको छ । 

तर आफ्नो सहायक कम्पनीमा करोडौं मूल्यको सामान चोरी भएको तथ्य बाहिर आउँदा पनि नेपाल विद्युत प्राधिकरण भने मौन छ । युनियनको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ । यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजिनक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानविन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीका लागि यस यूनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।’

खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ ।

ध्यानाकर्षण पत्रमा थप भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको देखिन्छ । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा कम्पनीद्वारा प्रवर्द्धित रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।

Advertisement

Advertisement