बोर्ड र मलेसियाको ‘ईफडब्लूडब्लूएमसी’बीच भएको सम्झौता खारेज गर्न म्यानपावर व्यवसायीको माग

Advertisement

काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यावसायीहरुले माग गरेका छन् । 

सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले व्यवसायीहरुलाई सिण्डिकेट गर्नेगरी विचौलियालाई फाइदा हुनेगरी वैदेशिक रोजगार बोर्ड र ‘ईफडब्लूडब्लूएमसी’बीच भएको सम्झौता खारेज गर्नुपर्ने माग गरे । 

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता अव्यवहारिक र गम्भीर विषय भएकाले खारेज गर्न माग गरे । उनले वैदेशिक रोजगारसम्बन्धी व्यवसाय नै मास्ने गरी सम्झौता भएको आरोप लगाए । 

भण्डारीले तत्काल यसरी भएको सम्झौता खारेज नगरे वैदेशिक रोजगार व्यवसाय बन्द गर्न बाध्य हुने बताए । वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रिक कुटनैतिक पहल गरी हटाउनुपर्ने उनको माग छ । 

भण्डारीले साउदी अरब दुतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रिक कुटनैतिक पहल गरी हटाउनुपर्ने बताए । उनले निःशुल्क तालिमका नाममा बनाईएको कार्यबिधिको अनावश्यक मापदण्ड हटाउनुपर्ने पनि बताए । 

भण्डारीले पछिल्लो समय काठमाडौंस्थित साउदी अरब दूतावासले बायोमेट्रिकलाई अनिवार्य गरी कामदारलाई समय र पैसा दुवैको भार पर्ने भन्दै असन्तुष्टि जनाए । 

संघले अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र एल टी नो अगाडी नै तालिमको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ । त्यस्तै, अवैधानिक मानव तस्करी र विचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारवाही गर्न माग गरको छ । 

वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको इसेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत व्यवस्था गर्नुपर्ने माग रहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न पनि सुझाव दिएको छ । 

Advertisement