काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमणमा जाने भएका छन् । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय बुधवार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले दाहाल युगाण्डा जान लागेको बताइन् ।
कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरुको १९ औं सम्मेलनमा भाग लिन दाहाल त्यसतर्फ जान लागेको उनको भनाई छ । सो अघि ३—४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १—२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।
बैठकले भूकम्पबाट प्रभावित जिल्लाहरुका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै विश्व बैंकबाट प्राप्त हुने प्रश्तावित सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धि दस्तबेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय भएको छ ।
सरकारले सशस्त्र प्रहरी बल नेपालको श्रेणीबिहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीबिहीन प्रथम, द्वितिय र तृतीय, चतुर्थ र पाँचौ स्तरको शुरु तलवमान ग्रेड संख्या ग्रेड दर स्वीकृत गर्ने, भारतको गुजरातमा हुने दशौं भाइब्रेण्ट गुजरात ग्लोवल समिट २०२४ मा भाग लिन पुस २४ देखि २७ सम्म अर्थमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै २०८० पुस २७ र २८ मा काठमाडौंमा हुने नेपाल—भारत वाणिज्य सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूचि स्वीकृत गर्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गरेको छ । साथै संलग्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
बैठकले एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न मन्त्रिपरिषद्को कात्तिक २१ को निर्णयअनुसार गठित समितिको कार्यावधि माघ १५ गतेसम्म थप गर्ने निर्णय समेत गरेको छ ।