जनस्तरबाट १९ किमि सडक निर्माण गर्ने स्थानीयलाई हतुवागढी गाउँपालिकाको सम्मान

Advertisement

भोजपुर । हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत संकलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो । 

हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ जना स्थानीयलाई सम्मान गरिएको हो । जनस्तरमा जागरण जुटाएर आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई एक कार्यक्रमका बीच गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणका लागि व्यक्तिगत रुपमा २८ लाख ६४ हजार ९९३ र  विभिन्न संघ संस्थाबाट ३३ लाख ११ हजार ६०० लगानी भएको बताइएको छ ।  

Advertisement

सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ । सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको अध्यक्ष राईको भनाइ छ । 

Advertisement

Advertisement