जीवन बीमा गराउनेको संख्या घटे पनि दुई अर्ब २५ करोड बढ्यो बीमा शुल्क

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६१ अर्ब ७५ करोड ८० लाख रुपियाँ जीवन बीमा शुल्क संकलन भएको छ । गत वर्ष समीक्षा अवधिमा ५९ अर्ब ५१ करोड रुपियाँ मात्रै जीवन बीमा शुल्क संकलन भएको थियो । यसरी तुलना गर्दा दुई अर्ब २५ करोड रुपियाँले बीमाशुल्क बढेको छ । 

यस्तै नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष मंसिर महिनासम्म एक करोड ३९ लाख जनाले जीवन बीमा गराएका थिए भने यसपालि समीक्षा अवधिमा सो संख्या एक करोड ३७ लाखमा खुम्चिएको छ । 

Advertisement

प्राधिकरणको तथ्याङ्क अनुसार बागमती प्रदेशबाट मात्रै २८ अर्ब २१ करोड रुपियाँ जीवन बीमा शुल्क संकलन भएको छ । 

सोही तथ्यांक अनुसार यस आर्थिक वर्षको पहिलो पाँच महिनामा सबैभन्दा कम जीवन बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । उक्त प्रदेशमा जम्मा एक अर्ब ७३ करोड रुपियाँ बराबरको बीमा शुल्क संकलन भएको हो । 

प्राधिकरणको तथ्यांक अनुसार गत साउनदेखि मंसिर महिनासम्ममा कोशी प्रदेशमा जीवन बीमा शुल्क बापत सात अर्ब २८ करोड रुपियाँ उठेको छ ।त्यस्तै, मधेश प्रदेशमा जीवन बीमा बापत पाँच अर्ब ३५ करोड रुपियाँ उठेको छ । 

बागमती प्रदेशमा २८ अर्ब २१ करोड रुपियाँ, गण्डकी प्रदेशमा ६ अर्ब २२ करोड रुपियाँ, गण्डकीमा नौ अर्ब ३१ करोड, कर्णालीमा १ अर्ब ७३ करोड रुपियाँ र सुदुरपश्चिममा तीन अर्ब ६२ करोड रुपियाँ बीमा शुल्क संकलन भएको छ । 

प्राधिकरणले विपन्न बसोवास रहेको तथा विकट ठाउँमा बीमाको प्रचारप्रसार नै कम भएकाले त्यहाँ उल्लेख्य रुपमा बीमा हुन नसकेको तर्क गर्दै आएको छ । त्यस्तै, देशको राजधानी काठमाडौं उपत्यकामा हुनुले पनि यहाँ रोजगारीको ठूलो अवसर, उद्योग कलकारखाना तथा जनघनत्व बढी भएकाले बागमती प्रदेशमा तुलनात्मक रुपमा बीमाको दायरा सधैं बढी हुने गरेको प्राधिकरणको तर्क छ ।  


 

Advertisement

Advertisement