काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरुबीचको बृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना गर्न सकिने बताएका छन् ।
२०३औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रवार उनको पार्टीले राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा थापाले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सके मात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने भन्दै उनले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रुपमा हेर्न नहुने बताए । थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रुपमा मनाउन र उनको तस्बीर नेपाली नोटमा अंकित गर्न पनि माग गरे ।
उनले भने, ‘जहाँसम्म हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने कुरा छ । यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्टवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरुको बीचमा एकता र एउटा बृहत मोर्चाको आवश्यकता पर्दछ । र, वास्तवमा आजको दिन राष्ट्रिय एकता दिवसको दिन म सबै राजनीतिक दलहरुलाई विशेष रुपले आग्रह गर्न चाहन्छु कि हामीले कसैलाई पनि निषेध नगरौं । राजादेखि माओवादीसम्म सबै अटाउने राजनीतिक प्रणालीको विकास गर्ने र सबै नेपाली मिलेर देशमा शान्ति, स्थायित्व कायम गर्ने र देशको समग्र आर्थिक विकास गर्ने दिशामा आजको दिनले प्रेरणा देओस् भन्ने म कामना पनि गर्न चाहान्छु ।’
थापाले थपे, ‘पृथ्वीनारायण शाहको योेगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन । समय, काल र परिस्थिति अनुसार राजनीतिक व्यवस्था परिवर्तन हुँदै जान्छ । तर नेपाली पहिचान, नेपाली नाम, जुन पृथ्वीनारायण शाहले हामीलाई दिनुभयो । त्यो कहिल्यै पनि समाप्त हुने कुरा होइन । नेपाल रहिरहेसम्म राष्ट्र निर्माताको योगदान सदैव अविष्मरणीय रहनेछ । यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । राजकीय स्तरबाटै सम्मान समारोहको आयोजना गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ ।’
विगतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइने गरेको उनले स्मरण गरे । थापाले २०६३ सालपछि त्यो अवरुद्ध हुन गएको बताउँदै यो दिन केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रुपमा सरकारीस्तरबाटै मनाउनुपर्ने बताए ।
अध्यक्ष थापाले पृथ्वीजयन्ती नेपालको गौरव र शानसँग सम्बन्धित भएको दाबी गर्दै यसलाई राजकीय सम्मानका साथ बनाउनुपर्ने बताए ।