मन्त्रालयको संख्या बढाउने तयारी भएको गृहमन्त्रीको खुलासा, ‘म त घटाउनुपर्छ भन्ने पक्षमा छु’

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय थप्ने तयारी भइरहेको बताएका छन् । आज शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उनले मन्त्रालय थप्न तयारी भइरहेको खुलासा गरेका हुन् । 

यद्यपि श्रेष्ठले मन्त्रालय थप्ने होइन्, घटाउनुपर्ने पक्षमा आफू रहेको बताए । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने भन्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताए । 

Advertisement

मन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए । यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उनले बताए । 

हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको श्रेष्ठले बताए । उनले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीब्रता दिन चाहेको बताए । 

सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको श्रेष्ठले जिकिर गरे । उनले भने, ‘राजनीतिक अधिकार सँगसँगै हामीले आर्थिक विकास र समृद्धिको क्षेत्रमा पनि केही न केही सकारात्मक कामहरु गरेका छौं । तर आजको मुल सन्दर्भ के हो भने ऐतिहासिक राजनीतिक परिवर्तन जुन आयामको भयो, नेपाली जनताले यो राजनीतिक परिवर्तनबाट जे अपेक्षा राखे र नेपाली समाजको त्यसपछाडिको जुन प्राथमिक आवश्यकता हो, त्योअनुसार विकास र समृद्धिको यात्रा अगाडि बढ्न सक्यो वा सकेन ? भन्ने कुरा आज सर्वाधिक महत्वको विषय हो ।’

श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको जिकिर गरे । उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए । 

Advertisement

Advertisement