चितवन राष्ट्रिय निकुञ्ज पाँच महिनामा एक लाख पर्यटकले घुमे

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् । 

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । 

Advertisement

यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसार्इंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्‍ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए । 

वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले नानसँग कुरा गर्दै पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । गत बर्षको अनुपातमा भने यस बर्ष पर्यटकको संख्या घट्ने देखिन्छ । 

पुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपियाँ राजश्व संकलन गरेको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ । उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बताए । 

Advertisement

Advertisement