उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ । साथै, टीओडी मिटरको डाटाकै आधारमा उद्योगीहरुसँग बक्यौता रकम अशुल गर्ने निर्णय पनि बैठकले गरेको छ । 

डेटिकेटड तथा ट्रंक लाइनमार्फत लाइन जडान गरी कारखाना चलाएका उद्योगहरुले बक्यौता नतिरेको भन्दै पछिल्लो पटक काटिएको लाइन जोड्न मन्त्रिपरिषद बैठकले चौविस घण्टाभित्र जोड्न आइतबार निर्देशन दिएको थियो । 

Advertisement

मन्त्रिपरिषदको निर्णयअनुसार सोमबार नै जोड्नुपर्ने लाइन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालक समितिको बैठकबाट निर्णय गरेर मात्रै जोड्ने अडान लिएपछि आज बैठक बसेको हो । यस्तो बैठक सोमबार नै बस्ने भनिए पनि केही सञ्चालक अनुपस्थित भइदिएर गणपूरक संख्या पुगेको थिएन । 

यसअघि प्राधिकरणले गत कात्तिक ८ मा तीन दर्जनभन्दा बढी ठूला उद्योगको लाइन काटेको थियो । मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार ‘टाइम अफ डे’ (टीओडी) डाटा अनुसार१५ दिनभित्र अशुल गरेर विवाद समाधान गर्ने निर्णय पनि गरेको थियो । 

आजको बैठकले मन्त्रिपरिषदको निर्णयअनुसार नै अघि बढ्न बैठक सहमत भएको देखिन्छ । हाल प्राधिकरणले उद्योगीहरुसँग अशुल गर्नुपर्ने बक्यौता सवा आठ अर्ब रहेको बताए पनि टीओडी मिटरको डाटाका आधारमा तत्कालिन समयमा दैनिक ६ घण्टाभन्दा बढी लोडसेडिङ कायम भएको दिनमा दैनिक २० घण्टाभन्दा बढी विद्युत आपूर्ति गरेको छ भने टीओडी मिटरको आधारमा प्रिमियम रकमको बिल गर्न सकिने कानुनी व्यवस्था छ । 

उद्योगीहरुले सोही आधारमा रकम तिर्न तयार रहे पनि प्राधिकरणले भने हचुवाको भरमा आफूहरुको नाममा बिना प्रमाण चर्को रकम माग गरेको भन्दै रकम तिर्न अस्वीकार गर्दै आएका थिए । 

Advertisement

Advertisement