प्रम दाहाललाई सुवालले भने– देश विकास गर्न नसक्ने भए राजीनामा दिई घर गएर बस्नु’

मेलम्चीमा ६० अर्ब खर्च भइसक्यो, अर्को ६० अर्ब खर्च भए पनि नियमित पानी आउँदैन्ः सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् । 

मंगलबार २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीमा सुवालले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएको बताएको स्मरण गर्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए । 

Advertisement

अघिल्लो सरकारहरुले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने उनको तर्क छ । सुवालले अब पनि केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिँदै नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको बताए । 

गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको सुवालको गुनासो छ । उनले भने, ‘हाम्रा प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो– अर्थतन्त्र मैले यस्तो बनाएको होइन । म त एक वर्ष मात्रै भयो । देशको अर्थतन्त्र ध्वस्त भयो ।  प्रधानमन्त्रीको भनाइ । अघिल्लो सरकारहरुले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि । होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि ।’ 

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले यो आयोजना आठ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । सुवालले हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताए । उनले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरे पनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए । 

सुवाललले हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकाले पनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने उनले चेतावनी दिए । 

सुवालले भने, ‘उपत्यकाभित्र खाद्यान्न, आवतजावतको समस्या हुन्छ । देश विकास हुँदैन । खानेपानीको समस्या छ काठमाडौंमा । काठमाडौंमा मेलम्चीको पानी आठ पटक उद्घाटन भयो । एक पटक मात्रै उद्घाटन गरेर पानी ल्याइदिएको भए हुन्थ्यो नि । हरेक प्रधानमन्त्रीलाई धारा खोल्नुपर्ने छ । हरेक खानेपानी मन्त्रीलाई धारा खोल्नुपर्ने । हेलम्बुबाट यो पानी आउने रहेछ, त्यहाँको भूगर्भ यति जोखिमपूर्ण रहेछ कि, ६० अर्ब रुपियाँ खर्च भएको छ । मेलम्चीको लागि अर्को ६० अर्ब खर्च गरेपनि पहिरो रोकिँदैन । मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक पर्छ । नेपालले धान्न सक्दैन । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेका छौँ । निकालिसकेपछि पुनःभरणको काम गर्नुपर्छ । झनै भूकम्पको जोखिम हुन्छ ।’

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो । 

Advertisement

Advertisement