हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश, ताला लगाउनुको कारण पनि माग

Advertisement

काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । 

उच्चअदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको हो । साम्पाङले केही दिनअघि आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी लगाउँदै उक्त ताला कसैलाई नखोल्न चेतावनी दिएका थिए । 

Advertisement

त्यसको भोलिपल्ट स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्राचार गर्दै उनले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । तालाबन्दीविरुद्ध सञ्जीवकुमार साहले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले ताला खोल्न भनेको हो । 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भन्दै अदालतले अस्पतालमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवम् नागरिकहरूको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू गराउनू भनी आदेश जारी गरेको छ । साथै, उच्च अदालतले विपक्षीहरूलाई कारण देखाऊ आदेशसमेत पनि जारी गरेको छ ।

Advertisement

Advertisement