वर्षाले रोकिएको प्याराग्लाइडिङ फेरि सुरु
प्रतीकात्मक तस्बिर

Advertisement

चितवन । वर्षात्का कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको बताए ।

भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलास रिसोर्ट छेउबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरू गरिएको हो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकोमा यसपटक दुई ठाउँबाट उडान गरिएको उनले जानकारी दिए । चितवन आउने पर्यटकको बसाइ लम्व्याउन यसले सहयोग पुग्ने सञ्चालक राउतले बताए । 

Advertisement

सामुन्द्रिक सतहबाट एक हजार ५० मिटर अग्लो स्थानबाट उडान गरिँदै आएको छ । चितवनको चौकीडाँडा र कविलासबाट उडान हुने प्याराग्लाइडिङ तनहुँ देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । 

प्याराग्लाडिङ उडानका लागि चौकीडाँडाबाट रु आठ हजार र कविलासबाट रु चार हजार शुल्क तोकिएको छ । 

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलास रिसोर्ट नजिकको स्थान नारायणगढ–मुग्लिन सडकबाट तीन किलोमिटरको दूरीमा छ ।

Advertisement

Advertisement