काठमाडौं । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाइ निष्कासन गर्न लागेको हो । यसमध्ये १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १४ प्रतिशत बीउ पुँजीबापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।
साथै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाइ सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको कम्पनीले जनाएको छ ।
बन्दमुखी योजना रहेको यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा सबै इकाइ बिक्री नभएमा म्याद थप भई फागुन १३ गतेसम्म खुला रहनेछ । प्रतिइकाइ १० रुपियाँका दरले आवेदन दिन सकिने यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको बताइएको छ ।