कुहिने र नकुहिने फोहोर व्यवस्थापनः संकलन गर्न महानगरद्वारा रंग संकेतसहितको गाडी तयार

Advertisement

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । 

फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।

Advertisement

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको बीचबाट २ खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बीचमा गरी २ वटा ढोका छन् । यसमध्ये बीचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ । 

बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । 

श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ । 

Advertisement

Advertisement