रवि लामिछाने र जिबी राई सम्पत्ति शुद्धीकरणको छानबिनमा

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर (जिबी) राई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र राईमाथि छानबिन थालेको हो ।

यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण माग गरेकाे छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकसँग लामिछाने र राईको विवरण मागिएकाे छ।

Advertisement

चिठीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ ।

विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई रवि र जिबी राईको खाता विवरण उपलब्ध गराइदिन भनेको छ ।

राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए ।

Advertisement

Advertisement