कार्यान्वयनमा आएको तीन महिनामै ‘स्थायी निक्षेप सुविधा’ पुनरावलोकन, शर्तहरु हटाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा (एसडीएफ)सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ । गत फागुन १ गतेदेखि एसडीएफ कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकको ३ महिनामै यस सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न लागेको हो ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै एसडीएफसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गर्यो । राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले यसलाई थप प्रभावकारी बनाउन यस्तो नीति ल्याएको बताए । 

Advertisement

उनले भने, ‘नेपालमा पहिलो पटक एसडीएफ कार्यान्वयनमा ल्याएका थियौं । अहिले बैंकहरुमा अधिक तरलता भएको अवस्थामा यसको सदुपयोग पनि राम्रै भएको छ । यो सुविधा नल्याएको भए अहिले अन्तर बैंक व्याजदर १ प्रतिशतभन्दा पनि तल जाने थियो । व्याजदर आवश्यकभन्दा पनि कम हुने थियो । एसडीएफकै कारण अन्तरबैंक व्याजदर ३ प्रतिशत हारहारीमा सन्तुलन राखिएको छ ।’

उनले थपे, ‘यद्यपि, यसलाई थप प्रभावकारी बनाउन केही नीतिगत संशोधन गर्न आवश्यक देखियो । त्यसले यसको संशोधन प्रक्रिया अघि बढाएका हौं ।’ व्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन पनि यो आवश्यक रहेको उनले बताए । 

स्रोतकाअनुसार हप्तामा दुई दिनभन्दा बढी एसडीएफ सुविधा दिने तयारी राष्ट्र बैंकको छ । वा एसडीएफको अवधी पनि बढाउने योजना रहेको उनले बताए । अहिले राष्ट्र बैंकले आइतबार र बुधबार एसडीएफ सुविधा प्रवाह गर्छ । त्यसको अवधी ४ दिनको हुनेछ । अब हप्तामा दुई दिन भन्दा बढी स्थायी निक्षेप सुविधा दिने वा यसको अवधी बढाउन सकिने स्रोतको भनाइ छ । 

यस्तै, यसका लागि तोकिएको केही शर्तहरु पनि हटाउने योजनामा राष्ट्र बैंकको छ । यो सुविधा पाउन बैंकहरुको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको हुनुपर्ने शर्त छ । यसैगरि पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको, पछिल्लो ३० दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदर भन्दा कम नभएको हुनुपर्ने लगायतका शर्त छन् । अब यी मध्ये केही शर्तहरु हटाउने तयारी राष्ट्र बैंकले गरेको स्रोतको भनाइ छ । 

चौध खर्ब बढीको स्थायी निक्षेप सुविधा
हालसम्म बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तर्गत नेपाल राष्ट्र बैंकमा १४ खर्ब ३ अर्ब ५ करोड रुपियाँ निक्षेप राखेका छन् । तीन सय ९४ पटक गरेर बैंकहरुले राष्ट्र बैंकमा सो बराबरको स्थायीय निक्षेप सुविधा लिएका हुन् । 

यस्तो निक्षेप ४–४ दिनमा राष्ट्र बैंकमा जम्मा गर्ने र झिक्ने प्रकृतिको हुन्छ । सोहीअनुसार बैंकहरुले पटक पटक गरेर राष्ट्र बैंकमा यतिका पैसा जम्मा गरेका हुन् । त्यसमा बैंकहरुले १३ खर्ब ८७ अर्ब ८५ करोड रुपियाँ फिर्ता लगिसकेका छन् । हाल राष्ट्र बैंकमा यस अन्तर्गतको बक्यौता १५ अर्ब २० करोड रुपियाँ छ । त्यो रकम आजै शुक्रबार वा आइतबार बैंकहरुले फिर्ता पाउने छन् । आइतबार पुनः बैंकहरुले राष्ट्र बैंकमा पैसा जम्मा गर्न सक्नेछन् । यसमा बैंकहरुले बार्षिक ३ प्रतिशत व्याजदर पाउँछन् ।

राष्ट्र बैंकले गत फागुन १ गतेदेखि एडीएफ कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि बैंकहरुले उच्च मात्रामा यसको प्रयोग गर्दै आएका छन् । आर्थिक शिथिलताका कारण कर्जा माग नहुँदा बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुले एसडीएफमार्फत पुँजी परिचालन गरिरहेका छन् । यसले बैंकहरुलाई सामान्य रुपमा भएपनि राहत मिलेको बैंकरहरु बताउँछन् ।

Advertisement

Advertisement