विभिन्न कसूरमा अब अनलाइनबाटै बैंक खाता रोक्का र फुकुवा, यस्ता छन तरिका

Advertisement

काठमाडौं । विभिन्न कसूरमा बैंक खाता रोक्का र फुकुवा गर्ने काम अब अनलाइनबाटै हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ को मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । 

राष्ट्र बैंकले राय सुझावको लागि बुधबार उक्त मस्यौदा सार्वजनिक गरेको छ । त्यसमा राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धी अनलाईन प्रणाली विकास गरेर कार्यान्वयनका लगि आवश्यक निर्देशन जारी गर्नसक्ने उल्लेख छ । 

Advertisement

त्यसपछि राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्था अर्थात् बैंकहरु तथा प्रचलित कानूनबमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकारप्राप्त अधिकारीले सोही प्रणालीमार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सक्ने बताइएको छ । 

हाल खाता रोक्काको काम कागजी प्रक्रियामै हुँदै आएको छ । अब भने त्यसलाई अनलाइन प्रणालीमा विकास गर्न खोजिएको राष्ट्र बैंकको भनाइ छ ।

कुनै व्यक्ति तथा संस्था आर्थिक अपराध जस्ता कसूरको अभियुक्त भएमा खाता रोक्का गर्न सकिन्छ । सम्बन्धित् अधिकार प्राप्त निकायबाट निवदेन आएमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले त्यस्ता अभियुक्तको खाता रोक्का गर्न सक्नेछ । मुद्दाको अन्तिम फैसला आएपछि सम्बन्धित अधिकारी प्राप्त निकायको अनुरोध, अदालतको आदेश लगायतका आधारमा राष्ट्र बैंकले त्यस्तो खाता फुकुवा गर्न गरिदिने छ । 

राष्ट्र बैंकले खातालाई तीन तरिकाबाट रोक्का गर्न सकिने गरि बाटो खुला गरेको छ ।  ‘सम्पूर्ण खाता रोक्का’, ‘निश्चित खाता रोक्का’ र ‘आंशिक खाता रोक्का’ गरेर यसलाई तीन भागमा विभाजन गरिएको छ । 

‘सम्पूर्ण खाता रोक्का’अन्तर्गत बैंकहरुमा खोलिएका सम्वन्धित व्यक्ति वा संस्थाका सबै खातालाई रोक्का गरिनेछ । यसरी खाता रोक्का भएमा खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन मिल्ने छैन् । 

‘निश्चित खाता रोक्का’अन्तर्गत भने निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन सकिनेछ । 

‘आंशिक खाता रोक्का’अन्तर्गत भने खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का हुनेछ । खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने गरी खाता रोक्का गरिनेछ । 

राष्ट्र बैंकले १५ दिनभित्र उक्त मस्यौदाउपर सुझाव दिन अनुरोध गरेको छ । सरोकारवालाको सुझाव आएपछि मस्यौदालाई अन्तिम रुप दिएर सञ्चालक समितिमा पेश गरिने छ । सञ्चालक समितिबाट पारित भएपछि यो कार्यान्वयनमा प्रवेश गर्नेछ । 

खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्था पहिलाको भन्दा अझ स्पष्ट बनाएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । यद्यपि, राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था अर्थात् बैंकहरुको खाता रोक्का नहुने व्यवस्था गरिएको छ । 

भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि काम गर्ने बैंक तथा संस्थाहरुमा भएको खाता पनि रोक्का नहुने बताइएको छ । तर, अल्पकालीन वा दीर्घकालीन रुपमा संस्था संचालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्न सक्ने बताइएको छ ।

Advertisement

Advertisement