आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशा गर्ने काम निजी क्षेत्रबाट भयोः गभर्नर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशा गर्ने काम निजी क्षेत्रबाट भएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा मंगलबार उनले अहिले बजारमा अपेक्षा सुन्दा निजी समस्यालाई ‘जनरलाइज’ गरेको देखिन्छ भन्दै भने, ‘आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ । राष्ट्र बैंकका आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाइ पनि ऋणमा डुबाउने होइन, धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।’

Advertisement

गभर्नर अधिकारीले चालुपूँजी कर्जा मार्गदर्शनसम्बन्धी नीतिले कुनै पनि व्यक्तिलाई ऋण लिन नरोक्ने बताए । यो मार्गदर्शनको विशेषगरी ठूला व्यवसायीहरुले विरोध जनाउँदै आएको बेला उनले यसमा निजी क्षेत्रले अझै राम्रोसँग नबुझेकाले बुझाउनु आवश्यक रहेको बताए । 

अधिकारीले, ‘विरोधका लागि विरोध होइन, जहाँ समस्या छ, राष्ट्र बैंकमा आउनुस्, समस्या समाधानमा हामी तत्पर छौं’ भने । मुद्रास्फीति बढ्दा मौद्रिक नीति स्वाभाविक रूपमा कडा हुने बताउँदै उनले केन्द्रीय बैंकले तथ्यमा आधारित रहेर नीति बनाउने बताए । 

गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरुको माग सम्बोधन गरिने बताए । मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने बताए । अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर नजाने बताए । 

उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका सुझाव र मागहरु व्यक्तिगत समस्यालाई सामुहिक बनाउन खोजिएको बताए । अधिकारीले बैंकको धेरै ऋण लिएर समस्यामा परिएका व्यवसायीहरुले बाहिर निस्कन राज्य र राष्ट्र बैंकले केही सहयोग गरिदिने आशा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा ठोक्काउन खोलिएको महशुस भएको बताए । 

धेरै सुझावहरु आएपनि मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै हात फैलाएर हाँगा हाल्न सक्ने अवस्था नभएको उनले बताए । अधिकारीले मौद्रिक नीतिको सिमाभित्र बसेर काम गर्नुपर्ने भएकाले निजी क्षेत्रले पनि बुझ्न आवश्यक रहेको बताए । 

अधिकारीले कतिपय सुझावहरु कर्जाको भ्यालु बढाउन आएपनि तत्काल कर्जाको भ्यालु रेसिया बनाउन सक्ने अवस्था नभएको बताए । उनले अहिलेको लोन टु भ्यालु रेसिया हुँदा व्यवसायीहरु प्यानिक बनेको भन्दै कर्जाको रेसिया बढाउँदा व्यवसायीहरुले साँचो बुझाउँछु भनेर बैंकलाई आउने र पुनः समस्या दोहोरिन सक्ने बताए । 

नीति बनाउनेहरुको भुमिका व्यवसायीहरुलाई ऋणमा डुबाउने नभएर व्यक्तिहरुलाई उद्यमी बनाउने र धान्नेसक्ने ऋण दिने खालको वातावरण बनाउने भएको बताए । 

बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने यो ठूलो बैंकिङ अपराध हो भन्दै अधिकारीले केन्द्रीय बैंकका लागि यो गम्भीर विषय हो भने । उनले प्रमाणसहित यस्ता कुरा ल्याउन चुनौति पनि दिए । 

गभर्नर अधिकारीले बैंकरले जहाँ नाफा छ त्यहीँ लगानी गर्छ भन्दै तर राज्यको उद्देश्य त्यो होइन भने । राज्यले साना उद्योग र साना ऋणीलाई संरक्षण गर्ने बताए । साथै गभर्नरले सहकारीको समस्या नियमनको अभावले आएको हो भन्दै नियमन हुँदैमा आत्तिनु नपर्ने बताए । 

उनले भने, ‘रेगुलेसन हुँदैमा आत्तिनु पर्दैन, सहकारीको समस्या नियमन अभावले आएको हो । नियमनले सिस्टम जोगाएको छ । विश्वास जोगाएको छ । रेगुलेसन आवश्यक छ, हामी त्यही अनुसार गरिरहेका छौं ।’

Advertisement

Advertisement