तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ ।
आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो ।
त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका र उनको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ ।
हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ ।
यता उनको अवस्था अझै अज्ञात रहेको बेलामा रसियाले उद्धार दल पठाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।