काठमाडौं । सोलुखुम्बुको मध्ये दूधकोशी गाउँपालिका–५ स्थित महभीरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।
साहसिक खेल ‘रक क्लाइम्बिङ’मार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न आगामी असार ३ र ४ गते प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता आयोजना गर्न मध्ये दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र संघका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन् ।
पर्यटन विकासको प्रचुर सम्भावना भएको आफ्नो गाउँपालिकाभित्र अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए । प्रतियोगिताले गाउँपालिकाभित्र मात्रै नभएर सोलुखुम्बुमा नै पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्ने उनले बताए ।
संघका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने बताए । प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर यो खेललाई प्रवद्र्धन गर्न लागिएको उनले बताए ।