काठमाडौं । कर्णाली नदीमाथिको एक झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु गरिएको छ । अछाम र दैलेख जिल्ला जोड्ने उक्त पुलमा १४ वटा खच्चड अडकिएका छन् ।
जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले लट्ठा चुँडिएको पुलको तार काटेर खच्चडहरुलाई नदीमा खसाल्दै उद्दारको तयारी गरिएको स्थानीयको भनाई छ ।
पुलबाटै खच्चडहरुको उद्धार गर्न निकै कठिन हुने देखिएपछि उनीहरुलाई नदीमा खसालेर किनारमा ल्याउने तयारी गरिएको हो । स्थानीयको भनाई उदृत गर्दै एक अनलाइन पोर्टलले उल्लेख गरेअनुसार उद्दार कार्य सुरु भइसकेको छ ।
नदीमा खसेका खच्चडलाई डुंगाले डोर्याएर किनारमा ल्याउने काम भएको छ । खच्चड व्यापारीहरुले एकै पटक झोलुंगे पुलमा धेरै खच्चड लैजान खोज्दा लट्ठा चुँडिएको हुनसक्ने अडकल गरिएको छ ।