मदनले राजासहितको प्रजातन्त्र स्वीकार्ने क्रममा अघि सारेको जबजप्रति माधव र झलनाथको वितृष्णा

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका नेताहरुले आफूहरुले माग्दै आएको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तप्रति वितृष्णा प्रकट गरेका छन् । एमालेका तत्कालिन महासचिव मदन भण्डारीले राजासहितको प्रजातन्त्र स्वीकार गर्ने क्रममा यो सिद्धान्त अघि सारेका थिए । 

एमालेले लामो समयदेखि आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको जबजप्रति एकीकृत समाजवादीका माधव नेपाल र झलनाथ खनालले आलोचना गरेका हुन् । 

Advertisement

माधव नेपालले एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको बताए । एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने उनको तर्क छ । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा माधव नेपालले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गरे । उनले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गरे । 

माधव नेपालले आफनो पार्टीले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने दावी गरे । उनले भने, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सार्यो । अरु पार्टीले भन्न सकेका छैनन् । हिजो नवौ महाधिवेशनले पनि धेरै गलत कुराहरु अगाडि सार्यो । जबजलाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन । त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो ।’ 

एकीकृत समाजवादीकै झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरे । 

उनले एमालेले माक्र्सवाद, लेनिनवादभन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गर्दै समाजवादका कुरा गर्नेहरुले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरुलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । 

नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे । चौध वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको उनको तर्क छ । 

खनालले भने ‘बुर्जुवा विचारहरु कम्युनिष्ट पार्टीमा पलपलमा छिरिरहेका छन् । अनि हामीले वैचारिक संघर्ष गरेनौ भने हामीलाई नै तिनीहरुले रुपान्तरण गरिदिन्छन् । नेताहरुलाई नै रुपान्तर गरिदिन्छन । केपी ओलीमा आएको यो अधपतन रुपान्तरण हो कि होइन ? अधपतन हो कि होइन ? त्यो अधोपतन हो नि ।’

Advertisement

Advertisement