धितोपत्र बोर्ड अध्यक्षका लागि आइतबार अनुपस्थित तीन जनाको अन्तर्वार्ता आज

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि आइतबार (असार २ गते) भएको अन्तरवार्तामा सुनियोजित ढंगले अनुपस्थित भएका तीन जनाको अन्तर्वार्ता आज हुँदैछ । 

सो दिन अनुपस्थित हुने तीन जनालाई आज (बुधबार) बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले भनेको छ ।

Advertisement

बोर्डको अध्यक्षका लागि सर्टलिष्ट लिष्ट (संक्षित सूची)  मा परेकामध्ये आजको व्यावसायिक कार्ययोजना पेशा तथा अन्तरवार्तामा तीन जना सुनियोजित रुपमा अनुपस्थित भए पनि मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ भने उपस्थित भएका थिए । 

कानुनी व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि कम्तिमा तीन जनाको नाम सिफारिस समितिले सिफारिस गर्नुपर्ने हुन्छ । सो कुरा नहोस भनेर सर्टलिष्टमा परेका पाँच जनामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा नगएको देखिन्छ । 

undefined

पुनः सूचना प्रकाशित भएअनुसार आज अनुपस्थित भएकाहरु आज पनि अनुपस्थित भएमा सिफारिस समितिले दुई जनालाई नै नियुक्तिका लागि सिफारिस गर्न सक्छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा  ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ’ भनेर उल्लेख छ । सोही व्यवस्थालाई लक्षित गरी आज तीन जना सल्लाह गरेर नै अनुपस्थित भएको देखिए पनि अर्थ मन्त्रालयले पुनः सूचना निकालेर उनीहरुको योजनालाई असफल बनाउने तयारी गरेको छ । 

पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेश हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । बोर्ड नेतृत्वविहीन हुँदा शेयर निष्कासनलगायतका महत्वपूर्ण कामकारवाही अलपत्र परेको छ । नयाँ अध्यक्ष नियुक्तिका लागि गत माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

फागुन दोस्रो साता सिफारिस समितिले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो जसमा १९ जनाले आवेदन दिएका थिए । यीमध्येबाट चैतमा ५ जनाको नाम सर्टलिस्टमा परेका थिए । यसबीचमा विवाद र विरोधपछि नियुक्ति प्रक्रियालाई धकेल्ने काम हुँदै आएको थियो । 

Advertisement

Advertisement