बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न असोज १७ गते सम्झौता गर्ने नेपालको प्रस्ताव

Advertisement

काठमाडौंमा । नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा आगामी असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गरिने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गर्न बंगलादेश र भारतलाई प्रस्ताव पठाएको छ । यद्यपि, त्यस मितिमा बंगलादेश र भारतले सहमति पठाउन बाँकी छ । 

Advertisement

उक्त मितिमा सहमति भएमा सोही दिन नै सम्झौता पत्रमा हस्ताक्षर हुने ऊर्जा मन्त्रालयको प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए । काठमाडौंमा नै बिशेष समारोह गरेर सम्झौता पत्रमा हस्ताक्षर गरिने उनको भनाई छ । 

मन्त्रालयले आगामी असोज १५ र १६ गते नेपाल–बंगलादेश संयुक्त ऊर्जा सह–सचिव र सचिवस्तरीय बैठक गर्न प्रस्ताव गरेको छ । उक्त बैंक सकिएको भोलिपल्ट अर्थात् असोज १७ गते (घटस्थापनाको दिन) ४० मेगावाट विद्युत् बिक्री सम्बन्धमा त्रिपक्षीय सम्झौता गर्न प्रस्ताव गरिएको छ ।

बंगलादेशमा विद्युत् बिक्री गर्ने सम्बन्धमा सबै प्रक्रिया पूरा भइसकेको जनाइएको छ । अब सम्झौता पत्रमा हस्ताक्षर गर्न बाँकी छ । यसअघि गत साउन १३ गते सम्झौता पत्रमा हस्ताक्षर गर्ने भनिएको थियो । तर, बंगलादेशमा जारी आन्दोलनका कारण त्यो स्थगित गरिएको थियो । बंगलादेशमा सेनाका सन्तानलाई सरकारी जागिरमा दिइएको कोटा (आरक्षण)विरुद्ध जारी आन्दोलनका कारण त्यो कार्यक्रम स्थगित भएको थियो । 

सोही आन्दोलनका कारण साउन २२ गते त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिई आफ्नो देश छोड्न बाध्य भएकी थिइन् । त्यसलगत्तै बंगलादेशको सेनाले सत्ता कब्जा गरेको थियो । पछि नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख बनेका थिए । 

त्यहाँको स्थिति सामान्य भएपछि नेपालले वार्ता अघि बढाएको हो । साथै, अघिल्लो साता त्यहाँको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णय पनि गरिसकेको छ । त्यसपछि अहिले आएर असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गर्न प्रस्ताव गरिएको हो । 

नेपालको विद्युत् भारतीय प्रसारणलाइनमार्फत बंगलादेश पुर्याइने भएकाले भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता हुनेछ । त्यसमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी) र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन)का कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् । 

सम्झौतापछि प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ । सम्झौता भएमा प्राधिकरणले पाँच बर्षसम्म १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत–भेरमारा बंगलादेश ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ ।

Advertisement

Advertisement