दसैंको उच्च चापमा रसुवागढी र तातोपानी नाका, साढे ३ सय गाडी बने 'लावारिस'

Advertisement

काठमाडौं । दसैंतिहार विशेष मालवस्तु आयातको उच्च चापमा यतिखेर उत्तरतर्फका दुईवटा नाका तातोपानी र रसुवागढी (केरुङ्ग) भन्सारमा परेको छ । खासगरी दसैंतिहारमा बढी भन्दा बढी खपत हुने रेडिमेट गार्मेटस्, लत्ता–कपडा, जुत्ता–चप्पल, मर्मसला, फलफूल लगायत सवारी साधनको उच्च आयातको चापमा यतिखेर तातोपानी र रसुवागढीमा परेको हो ।​

दसैंका लागि रसुवागडी हुँदै मौसमी फलफूल स्याउ सुन्तलासँगै चिनियाँ लसुनको उच्च आयात भइरहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । 

Advertisement

‘पछिल्लो दुई चार दिनमा नै लत्ता–कपडा तथा जुत्ता, चप्पल बोकेका करिब २५ वटा कन्टेनर भन्सार पास भएका छन् । यो संख्या अझ बढ्दो छ’ रसुवागढी भन्सार कार्यालय प्रमुख तुलसी प्रसाद भट्टराईले कर्पोरेट नेपालसँग भने । थप दसैंतिहारकै लागि चिनियाँ लसुन र स्याउको आयात समेत उल्लेखनिय रुपमा बढेको भन्सार प्रमुख भट्टराईको भनाइ छ । 

‘सरदर आयात भन्दा पछिल्ला दिनमा केहीँ बढेको छ । मौसमी फलफूलमा स्याउसगै चिनियाँ लसुनको आयात समेत बढेको छ ।’​ केहीँ दिनमा स्याउ र लसुन बोकेका कन्टेनर मात्र ४० वटा छुटेको भट्टराईले जानकारी दिए ।

यस्तै, उत्तरतर्फकै अर्को व्यापारिक नाका ‘तातोपानी’ बाट समेत पछिल्ला दिनमा मालवस्तुको राम्रै आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । दसैंतिहार जस्ता ठूला चाडपर्वसँगै जाडो याम समेत शुरु हुनै लाग्दा तातोपानी भन्सार हुँदै बाक्ला लत्ता–कपडा, ज्याकेट, जुत्ता, चप्पल लगायतका उपभोग्य वस्तुहरुको आयात बढेको भन्सार प्रमुख कमलकुमार भट्टराईले कर्पोरेट नेपालसँग बताए । 

‘यताको बाटो खराब छ । नेपालतर्फ मात्र नभएर उता चीनतर्फ पनि बाटो खनिएको अवस्था छ । तथापि, सोचे अनुसार वस्तुको आयात हुन नसकिरहेपनि दसैंतिहार र जाडो यामका कपडा लगायत अन्य वस्तुहरु राम्रै भित्रिरहेको छ’ भट्टराईले भने । 

दैनिक जसो २० देखि २५ वटा कन्टेनर तातोपानी भन्सार हुँदै नेपालका लागि छुट्ने गरेकोमा दसैंतिहार लक्षित मालवस्तु बोकेका ‘लोडेड’ एक सय बढी कन्टेनर एकैपटक नाकामा आएको भन्सार प्रमुख भट्टराईले कर्पोरेट नेपाललाई जानकारी दिए । तथापि, भन्सार जाँच पासमा कुनै समस्या नरहेको बताउँदै भन्सार प्रमुख भट्टराईले सहजीकरण गरिरहेको जानकारी दिए । 

‘मालवस्तु लोड भएका गाडीहरुको चाप बढ्दैछ । भन्सार जाँचपासमा कुनै समस्या नहुँने गरी हामीले व्यवस्थापन मिलाएका छौं । माथि चीनतर्फ एक सय भन्दा बढी लोडेड कन्टेनर लाइनमा छ भन्ने सूचना आएको छ, यी सबै कन्टेनरलाई सहज पास गर्ने व्यवस्था मिलाउँछौं’ भट्टराईले कर्पोरेट नेपालसँग भने ।

साढे ३ सय गाडी लावारिस

खासगरी पछिल्लो समय चिनियाँ विद्युतीय गाडी (ईभी) आयातको केन्द्र दुईवटा नाका ‘तातोपानी भन्सार’ र ‘रसुवागढी भन्सार’ बनिरहेको छ । गत आर्थिक वर्षमा मात्र १३ हजार बढी विद्युतीय गाडी आयात हुँदैगर्दा यो वर्षको पहिलो र दोस्रो महिनामा नै एक हजार बढी गाडी आयात भइसकेका छन् ।

यस्तोमा ईभी आयातको प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा पछिल्लो समय करिब साढे ३ सय गाडी थन्किएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयको र्याडमा करिब २ सय हाराहारी विद्युतीय सवारी पार्क भएकोमा रसुवागढीतर्फ पनि करिब १५० वटा गाडी लावारिस बनेको भन्सार कार्यालयले जनाएको छ ।

null

‘विभिन्न ब्राण्डका करिब १५० चिनियाँ गाडी भन्सार कार्यालयमा आइपुगेका छन् । तर, समयमा नै जाँचपास हुन नसक्दा गाडीहरु वेवारिसे बन्न पुगेका छन्, ‘रसुवागढी भन्सार कार्यालय प्रमुख तुलसी प्रसाद भट्टराईले भने, ‘कति गाडी रोडमा, कति पाखामा त कति गाडी बारीका पाटमा पार्किङ्ग गरिएका छन् ।’

रसुवागढी भन्सार कार्यालयको आफ्नै पार्किङ्ग क्षेत्र नहुँदा आएका गाडीहरु वेवारिसे बन्न पुगेका हुन् । व्यवसायीहरुले भन्सार जाँचपासका लागि ढिलाई गर्दा पनि समस्या आएको भन्सार कार्यालयको भनाइ छ । 

तर, यता तातोपानी भन्सार कार्यालयले भने पार्किङ्ग क्षेत्र छुट्याएको छ । भन्सार कार्यालय हुँदै आउने सवारी साधनहरुलाई भन्सार कार्यालयले आफ्नो भन्सार र्याडमा राख्न दिने गरेको छ भने पार्किङ्ग गरे बापत शुल्क उठाउने गर्छ । 

दुई भन्सार कार्यालयको राजस्व साढे ४ अर्ब 

भदौ महिनामा मात्र यी दुई भन्सार कार्यालयले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन् । खासगरी ईभीको बढ्दो आयातका कारण पनि यी तातोपानी भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयको राजस्व संकलन बढ्न गएको हो ।

गएको भदौमा मात्र रसुवागढी भन्सार कार्यालयले २ अर्ब ६१ करोड राजस्व संकलन गरेको भन्सार प्रमुख भट्टराईले जानकारी दिए । यो लक्ष्यको ९२ प्रतिशतको असुली हो । भदौका लागि रसुवागढी भन्सार कार्यालयले २ अर्ब ३९ करोड राजस्व संकलनको लक्ष्य राखेको छ । 

अघिल्लो वर्षको यसै अवधिमा राखिएको राजस्वको तार्गेट (लक्ष्य) भन्दा ४९ प्रतिशत बढी लक्ष्य थपिएकोमा ईभीको आयातले सम्भव हुने अपेक्षा गरिएको भन्सार प्रमुख भट्टराईले कर्पोरेट नेपालसँग बताए । 

यस्तै, तातोपानी भन्सार कार्यालयले गएको भदौमा १ अर्ब ८६ करोड राजस्व उठाएको छ । यस महिनाका लागि १ अर्ब ८७ करोड लक्ष्य राखिएकोमा लक्ष्यको निकै नजिक पुगेको भन्सार कार्यालयले जनाएको छ । साउनमा भने तातोपानी भन्सार कार्यालयले १ अर्ब ३६ करोड राजस्व उठाएको थियो । 

null

Advertisement

Advertisement