स्थिर सरकार चाहिने भए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँः राउत

Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले २०७२ को संविधान १०औँ वर्षमा प्रवेश गर्दा पनि यसप्रति सत्तापक्षबाट, खासगरी ठूला पार्टीहरुबाट इमान्दारिता नदेखिएको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले संविधानको कार्यान्वयन गर्नुपर्छ, अधिकार बाँडफाँट गर्नुपर्छ, शक्तिलाई बिकेन्द्रीकरण गर्नुपर्छ भन्ने कुरामा उनीहरुको असहमति रहेको दावी गरे । 

Advertisement

संविधान पुनःलेखन गर्नैपर्ने अवस्था अहिले आफूले नदेखेको राउतले बताए । उनले पुनः लेखनको बहानामा एकचोटी संविधानमा हात हाल्ने अनि संविधानमा जुन अधिकार संस्थागत भइसकेका छ, त्यो बाहानामा खोस्ने षड्यन्त्र हुनसक्ने तर्क गरे । 

राउतले भने, ‘जसरी प्रहरीलाई प्रदेश मातहत राख्नुपर्दछ । अन्य अधिकार दिनुपर्दछ । प्रदेशका आफ्नै कर्मचारी हुनुपर्दछ । त्यसमा संघले हस्तक्षेप गर्नुहुँदैन । संघले अनावश्यक विकासका काम पनि गर्नु हुँदैन । अहिले दुई लाखको बजेट पनि संघले छुट्याएर राखेको छ । त्यो त संघले गर्ने होइन । संघले त मौद्रिक नीति हेर्ने हो । राष्ट्र नीति, सुरक्षा नीति हेर्ने हो । त्यो तीनवटा मन्त्रालय मात्रै संघले राख्ने । अन्य अधिकारहरु प्रदेशलाई दिनुपर्छ ।’

संविधान संशोधन भन्नेबित्तिकै सकारात्मक हो भनेर बुझ्नु नहुने उनले बताए । राउतले त्यहाँ ठूला पार्टीहरुको ठूलो षड्यन्त्र रहेको जिकिर गर्दै राउतले ठूला पार्टीहरु मात्र कसरी बाँच्न सक्छ भन्नेतिर उनीहरुको बढी ध्यान रहेको बताए । 

विगतमा दुईतिहाईको सरकार बनेर समेत स्थिरता दिन नसकेकोमा स्थिरताका लागि संविधान संशोधन गर्न लागेको भन्ने तर्कमा उनले विश्वास गरेनन् । नेपालमा कुनै दलले दुईतिहाई ल्याए पनि विदेशी चलखेलका कारण फुट्ने भन्दै संविधान संशोधन गरेपछि कुनै दलले बहुमत ल्याउँछ र स्थिर सरकार बनाउँछ भन्ने कुरामा विश्वास गर्न नसकिने बताए । 

स्थायित्व चाहिने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने राउतले बताए । उनले भने, ‘अहिलेको यो विचौलिया प्रणाली किन ? त्यो त योभन्दा बढी स्थायित्व हुन्छ ।’ साँसदलाई मन्त्री राख्ने प्रावधान पनि हटाउनुपर्ने उनले बताए । त्यो भयो भने पार्टी फुट्ने क्रम पनि रोकिने बताए । साँसद मन्त्री हुन नपाएपछि विकृति पनि रोकिने र विज्ञहरु ल्याएर मन्त्रालय पनि चलाउने कुरा आउने बताए । 

साथै, राउतले संवैधानिक निकायका प्रमुखहरु पनि प्रत्यक्ष रुपमा निर्वाचित भएर आउनुपर्ने बताए  ताकि उनीहरुले स्वतन्त्र भएर काम, कारबाही गर्न सकुन् । आर्थिक नीतिको ठाउँमा समाजवादको ठाउँमा सामाजिक लोकतन्त्र ल्याउनुपर्ने नेता राउतले बताए । 

Advertisement

Advertisement