कृषि तथा पशुपंक्षी बीमा फेरि रोक्किने संकेतः सरकारले प्रतिवद्धता गर्यो, रकम निकासा गरेन

Advertisement

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमाको अनुदानको बक्यौता भुक्तानीको प्रतिवद्धता गरे पनि रकम भुक्तानी गर्न भने आनाकानी गरेको छ । 

कृषि तथा पशुपंक्षी मन्त्रालयले गत जेठ १७ गते बीमा कम्पनीहरुलाई तत्काल ९७ करोड रुपियाँ दिने प्रतिवद्धता गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुले रोकिएको कृषि तथा पशुपंक्षी बीमाको कारोबार पनि सुचारु गरेका थिए । 

Advertisement

तर, मन्त्रालयले प्रतिवद्धता गरेको तीन साता बितिसक्दा पनि कम्पनीहरुले अनुदानवापतको रकम पाउन सकेका छैन । कृषि तथा पशुपंक्षी बीमा गर्दा लाग्ने शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यसको प्रत्यक्ष फाइदा किसानलाई हुन्छ । सोहीअनुसार कम्पनीहरुले किसानसँग २० प्रतिशत शुल्क लिएर बीमा गर्ने गर्छन् । बाँकी ८० प्रतिशत शुल्क भने सरकारले अनुदानबापत दिनुपर्छ । 

तर, कम्पनीहरुले गत आवदेखिकै अनुदानवापतको रकम पाउन सकेका छैनन् । हालसम्म त्यसमा दुई अर्ब १७ करोड रुपियाँ भन्दा बढी बक्यौता छ । 
पटक पटक ताकेदा गर्दा पनि पैसा नआएपछि कम्पनीहरुले गत चैत १ गतेदेखि यसको कारोबार रोकेका थिए । त्यसपछि तत्काल मन्त्रालयले ४६ करोड रुपियाँ निकासा दिएको पनि थियो । 

तर, कम्पनीहरुले पूरै बक्यौता पाउनुपर्ने भन्दै यस्तो बीमाको कारोबार रोक्का नै राखे । त्यसपछि मन्त्रालयले जेठ १७ गते कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर बीमाको कारोबार खुलाउन आग्रह गरेको थियो । साथै, तत्काल ९७ करोड रुपियाँ भुक्तानी दिने प्रतिवद्धता पनि दिएको थियो । 

यससम्बन्धी शीर्षकमा पैसा नभएकाले अन्य शीर्षकबाट रकमान्तर गरेर भुक्तानी दिन लागेको मन्त्रालयको भनाई छ । रकमान्तरका लागि अर्थ मन्त्रालयबाट स्वीकृत समेत आइसकको मन्त्रालयले बताएको थियो । तर, तीन साता बितिसक्दा पनि त्यस बापतको पैसा कम्पनीहरुले पाउन नसकेपछि कृषि तथा पशुपंक्षी बीमा पुनः प्रभावित हुने देखिएको छ । 

यो प्रवृत्तिले बाँकी बक्यौता पनि चालु आवमा आउने सम्भावना न्यून देखाएको बीमा कम्पनीका सीईओहरुको आशंका छ । यो ९७ करोड रुपियाँ भुक्तानी भएपछि बीमा कम्पनीहरुले पाउनुपर्ने बक्यौता एक अर्ब २० करोड हारहारीमा बाँकी हुन्छ । यो गत फागुनसम्मको तथ्यांक मात्रै हो । त्यस यताको तथ्यांक समावेश गर्न बाँकी छ । 

प्रतिवद्धता गरेको रकम (९७ करोड) आउनै विलम्ब भएपछि बाँकी रकम चालु आवमै आउने आशा कम्पनीहरुले मारिसकेका छन् । गत जेठ १७ गतेको छलफलमा मन्त्रालयले तत्काल ९७ करोड र चालु आवमा बाँकी सबै बक्यौता चुक्ता गर्ने प्रतिवद्धता दिएको थियो । तर, त्यो सम्भावना न्यून देखिएको कम्पनीहरु बताउँछन् । 

यता नेपाल बीमा प्राधिकरणका सुचना अधिकारी निर्मल अधिकारीले उक्त पैसा (९७ करोड) निकासा हुने प्रक्रियामा रहेको बताए । ‘त्यो पैसा पशु बिभागमा आइसकेको जानकारी प्राप्त भएको छ । बिभागले त्यो पैसा अब कृषि तथा पशुपंक्षी मन्त्रालयको अनुदान कमिटिमा पठाउछ,’ उनले भने, ‘त्यसपछि कमिटिले नै उक्त पैसा वितरण गर्छ । सम्भवतः एक हप्तामा बीमा कम्पनीहरुले त्यो पैसा पाइसक्नेछन् ।’

यसअघि पनि कम्पनीहरुले २०८० जेठ ७ गतेदेखि असार ६ गतेसम्म कृषि बीमाको कारोबार रोकेका थिए । त्यसपछि सरकारले असारभित्रै पैसा उपलब्ध गराउने प्रतिवद्धता गरेपछि कम्पनीहरुले कारोबार सुरु गरेका थिए । तर, असारभित्र बीमा कम्पनीहरुले पूरा पैसा पाउन सकेका थिएनन् । त्यसपछि कम्पनीहरुले गत चैतदेखि फेरि कारोबार बन्द गरेका थिए । सरकारको अनुरोधमा जेठ १८ गतेदेखि कृषि बीमाको कारोबार भइरहेको छ । तर, सरकारले अनुदानको बक्यौता भने दिएको छैन् । 

Advertisement

Advertisement