सूर्यज्योति लाइफको संस्थापक शेयर पटक पटक मूल्य घटाउँदा पनि बिकेन

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा भएको एनआईसी एसिया बैंकको तीन लाख कित्ता संस्थापक शेयर पटक पटक मूल्य घटाउँदा पनि बिक्री हुन नसकेपछि तेस्रो पटक सूचना निकालिएको छ । 

बैंकले सूर्यज्योतिमा भएको उक्त संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया गत बैशाखमै अघि बढाएको थियो । तर, अहिलेसम्म पनि उक्त शेयर बिक्री हुन सकेको छैन । कम्पनीले अहिले प्रतिकित्ता ४८ रुपियाँ मूल्य घटाएर तेस्रो पटक शेयर बिक्रीको सूचना निकालेको छ । 

Advertisement

कम्पनीले आइतबार प्रतिकित्ता न्यूनतम १६२ रुपियाँमा उक्त संस्थापक शेयर बिक्री गर्ने सूचना प्रकाशन गरेको हो । यसअघि प्रतिकित्ता न्यूनतम २१० रुपियाँमा शेयर बिक्री गर्ने गरि उसले सूचना निकालेको थियो । उक्त मूल्यमा शेयर बिक्री हुन नसकेपछि मूल्य घटाएर प्रस्ताव आह्वान गरिएको छ । 

पहिलो पटक बैशाख २० गते उक्त तीन लाख कित्ता संस्थापक शेयर बिक्री गर्न सूचना प्रकाशन गरिएको थियो । साविकका संस्थापक शेयरधनीहरुको लागि आह्वान गरिएको उक्त सूचनाको म्याद ३५ दिन थियो । त्यस अवधीमा कुनै पनि साविकका संस्थापक शेयरधनीले शेयर खरीदका लागि शिलवन्दी पेश गरेनन् । 

त्यसपछि कम्पनीले असार ४ गते विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघ, सस्थाहरुलाई शेयर बिक्री गर्न आह्वान गर्दै सूचना निकाल्यो । त्यसमा शिलवन्दी पेश गर्ने अन्तिम म्याद असार ११ गते कार्यालय समयसम्म थियो । त्यसमा पनि न्यूनतम बिक्री मूल्य २१० रुपियाँ तोकिएको थियो । तर, त्यस अवधीमा पनि कम्पनीको संस्थापक शेयर किन्न कसैले इच्छुक देखाएनन् । 

मूल्य घटाएर गरिएको पछिल्लो सूचनामा पनि संस्थापक शेयर बिक्री हुने संभावना कम देखिन्छ । पटक पटक धेरै विवादमा पर्दै आएको सूर्य ज्योतिप्रति आम लगानीकर्ताको समेत विश्वास गुम्दै गएको देखिन्छ । बीमितलाई ठगी गरेको, दावी भुक्तानी नदिएको जस्ता थुप्रै उजुरीहरुको सामना गर्दै आएको उक्त कम्पनीले गत बर्षको मुनाफाबाट शेयरधनीलाई कुनै लाभांश नदिई निराश बनाएको थियो । 

undefined
त्यसपछि कम्पनीले आइतबार पुनः अर्काे सुचना निकाले शेयर खरिदका लागि गोप्य शिलवन्दी पेश गर्न आह्वान गरेको छ । इच्छुक विद्यमान सस्थापक शेयर धनी वा अन्य जो कोही व्यक्तिले पनि आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । यसपाली भने न्यूनतम बिक्री मुल्य प्रतिकित्ता ४८ रुपियाँ घटाएर १६२ रुपियाँमा प्रस्ताव आह्वान गरिएको छ ।
undefined

Advertisement

Advertisement