एक बर्ष बित्यो, तर बाढी प्रभावित जलविद्युत् आयोजनाहरुले पाएनन् बीमा दावी भुक्तानी

Advertisement

काठमाडौं । एक बर्ष बितिसक्दा पनि भीषण बाढीबाट प्रभावित जलविद्युत् परियोजनाहरुले बीमा दावी पाएका छैनन् । २०८० असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीले निर्माणधिन र सञ्चालनमा रहेका २८ जलविद्युत् परियोजना नमज्जाले प्रभावित भएको थियो । तर, एक बर्ष बितिसक्दा पनि त्यसमध्ये अधिकांश परियोजनाहरुले बीमा दावी पाउन नसकेका हुन् । 

केही आयोजनाहरुले दावी भुक्तानी पाउन थाले पनि क्षतिअनुसार क्षतिपूर्ति नदिएको गुनासो छ । बाँकी अधिकांश आयोजनाले दावी पाउन नसकेको ऊर्जा व्यवसायीहरु बताउँछन् । 

Advertisement

दावी नपाएपछि अहिले जलविद्युत् परियोजनाहरुका प्रवर्द्धकहरु नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धाइरहेका छन् । ऊर्जा व्यवसायी सीताराम तिमिल्सिनाले बीमा कम्पनीबाट दावी नपाएपछि प्राधिकरणमा उजुरी समेत दिएको जानकारी दिए । उनी एक प्रतिनिधि पात्र मात्रै हुन । दावी नपाएको भन्दै अन्य परियोजनाले पनि प्राधिकरणमा उजुरी दिएका छन् । 

गत बर्ष पूर्वी नेपालमा आएको बाढीले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधिन ३२० मेगावाटका १७ र निर्माण सम्पन्न भएका १०८ मेगावाटको ११ परियोजना क्षतिग्रस्त भएका थिए । बाढीमा परेर २० जना श्रमिकको ज्यान समेत गएको थियो ।

बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको थियो ।  

त्यसैगरि, ताप्लेजुङ र पाँचथरमा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी–१ २५ मेगावाट, काबेली बी–१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको थियो । यी लगायतका २८ परियोजना बाढीले क्षतिग्रस्त भएका थिए । यसमा १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको बताइएको छ । 

बाढी आए लगत्तै परियोजनाहरुले आफूले बीमा गरेको सम्बन्धित दावी पेश गरेका थिए । त्यसपछि कम्पनीहरुले परियोजनाहरुलाई निश्चित रकम पेश्की दावीबापत दिएका पनि थिए । तर, एक बर्ष बितिसक्दा यसको अन्तिम दावी भुक्तानी हुन सकेको छैन । उल्टै बाढीले आयोजनाहरुमा पटक पटक सर्भे गराइएको छ । तर, पनि आयोजनाहरुले दावी पाउन सकेका छैनन् । 

पहिलासम्बन्धी बीमा कम्पनीहरुले नै क्षतिग्रस्त परियोजनाहरुमा सर्भे गराइसकेका थिए । पछि रि इन्स्योरेन्स कम्पनीहरुले पनि बाढीबाट प्रभावित परियोजनाहरुमा आफ्नो छुट्टै सर्भेयर परिचालन गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । एउटै परियोजनामा सात पटकसम्म सर्भे गराइएको उनीहरुको भनाइ छ । पटक पटक सर्भे गराउँदा पनि यसको अन्तिम दावी भुक्तानी अन्योलमा परेको उनीहरु बताउँछन् । 

केही कम्पनीहरुले भने दावी भुक्तानी प्रक्रिया अघि बढाएका छन् । तर, अधिकांश कम्पनीहरुले सर्भेयरको अन्तिम प्रतिवेदन नआएको भन्दै दावी भुक्तानी अघि बढाएका छैनन् । केही कम्पनीहरु भने पुनर्बीमाबाट दावी लिएपछि मात्रै भुक्तानी गर्ने योजनामा छन् । तर, पुनर्बीमा कम्पनीहरुले पनि यस्तो दावी नदिएको जानकारवाहरु बताउँछन् । 

बिशेषगरि उचित मात्रामा पुनर्बीमा र रेट्रोसेसन (पुनर्बीमाको पनि पुनर्बीमा) गर्न नसक्दा यस्तो समस्या आएको जानकारवाला बताउँछन् । यसमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमै पुनर्बीमा गरेका छन् । तर, उनीहरुले उचित मात्रामा रेट्रोसेसन नगरेको देखिएको छ । यसरी एकै पटक ठुलो मात्रामा दावी पर्दा व्यवस्थापन गर्न चुनौती भइरहेको स्रोतको भनाइ छ । 

प्राधिकरणका एक उच्च अधिकारीले एक बर्षसम्म दावी भुक्तानी नहुनु दुःखद पक्ष भएको बताए । ‘यसमा बीमा कम्पनीहरुले अर्बौ रुपियाँ दावी भुक्तानी दिनुपर्ने जस्तो देखिन्छ । तर, एक बर्ष बितिसक्दा पनि बाढीबाट प्रभावित जलविद्युत् परियोजनाहरुले दावी पाएका छैनन् । एड्भान्स बापत केही दावी भुक्तानी दिएको देखियो । तर, अन्तिम दावी भुक्तानी भने अझै दिएका छैनन् । यो प्रवृत्ति ठिक देखिएन । यसले बीमा क्षेत्रमाथि नैनिक प्रश्न उठाएको छ,’ उनले भने, ‘यो बिषयमा प्राधिकरण गम्भीर छ । यसमा कडाईका साथ अघि बढ्छ ।’

Advertisement

Advertisement