ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न– ‘क्यान्टनमेण्ट’ घोटालामा कस्को नाम छ ? संसदमा भन्दिनुस्

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्दं)ले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । 

आईतवार संसद बैठकमा उनले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । जीबी राईलाई पक्राउ गरेर ल्याउन पनि शाहीले आग्रह गरे । 

Advertisement

अझै सरकारको चार दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए । शाहीले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक–पटक आग्रह गरे पनि प्रहरी नपठाएको बताए । 

उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए । शाहीले भने, ‘संविधान संशोधन गरौँ । संविधानलाई परिवर्तन गरौँ । संविधान गीता, कुरान, बाइबल होइन । देशको हितमा छ भने संशोधन गरेर अगाडि बढाऔँ । हितमा छैन भने बुँदाहरु कटौती गरौँ । हामीलाई जनताले यी पुराना ३३ वर्षदेखि देशलाई लुटे । यिनीहरुका विरुद्धमा सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले दिएको जनमत हो । पद र प्रतिष्ठाको लागि हो जस्तो मलाई लाग्दैन ।’

उनले थपे, ‘मलाई बढी केही माग्नु छैन गृहमन्त्रीबाट । जीबी राई पक्राउ गरेर ल्याउनुस् । यही संसदमा हामी फूलमालाले स्वागत गर्छौ । २०७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो । सबै जनताले पत्याएर भोट हाल्यौँ । एक सय २४ दिन भयो सरकारमा गएको आज के भयो ? अझै ७ दिन फाइल खोलौँ । झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ । हामी साथ र समर्थन गर्छौ । खोल्नुस् न फाइल कसले रोकेको छ ? किनभने आज पनि सरकार छ । जनतालाई कहिलेसम्म भ्रमित पार्ने हो ? काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई (सुकुम्वासीलाई) हटाऔँ भन्दाखेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ? गृहमन्त्रीज्युलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस् । हामी तपाईंलाई समर्थन गर्छौं ।’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए । 

Advertisement

Advertisement